राष्ट्रपतिसँग वार्तामा बस्न नपाएपछि शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
राष्ट्रपतिसँग वार्तामा बस्न नपाएपछि शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौं, २५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन्। अहिले शीतल निवासमा छलफल जारी छ ।

सुरुमा १७ जना जेनजी प्रतिनिधि छलफलमा सहभागी हुने तय भए पनि संख्या बढेको बताइएको छ । २० जनाभन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि जेनजी युवा अगुवाहरुको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । तत्काललाई भने उनी जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।

मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको हो । तर आधिकारिक जेनजी समूह कुन हो भन्ने खुट्याउन सकिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस