जेनजी आन्दोलनका शहीद परिवारलाई गोरखामा राहत रकम वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी आन्दोलनका शहीद परिवारलाई गोरखामा राहत रकम वितरण

गोरखा, २६ असोज। जेनजी आन्दोलनका शहीद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको  छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहीद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

‘केही दिनअघि देखि हामीले शहीद परिवारलाई राहत रकम वितरण थालेका हौ,’ उनले भने, ‘आज पनि पालुङटार नगरपालिका–३ का अनिष पराजुलीका परिवारलाई राहत रकम उपलब्ध गरायौ ।’

वडाध्यक्ष रविन्द्र अधिकारी, प्रहरी लगायतको उपस्थितिमा पराजुलीकी धर्मपत्नी मञ्जु पौडेललाई राहत रकम हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार शहीद परिवारलाई कुल १५ लाखका दरले राहत रकम उपलब्ध गराइएको छ ।

‘आर्थिक सहायता भनेर दश लाख र काजक्रिया, यातायात लगायतका खर्च भनेर पाँच लाख गरी कुल १५ लाख रकम उपलब्ध गराउने भन्ने केन्द्रको निर्देशन अनुसार हामीले रकम उपलब्ध गराएका हौ,’ उनले भने । उक्त रकम सिधै परिवारका सदस्यको बैंक खातामा जम्मा गरिएको उनले जानकारी दिए ।

२३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा पराजुलीसहित गोरखाका चार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा पराजुली, बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र सिरानचोक गाउँपालिका–२ का सरोज गुरुङ छन् ।

चार जनामध्ये तीन जना शहीद परिवारले राहत रकम लगिसकेका छन् । सिरानचोकका सरोजका परिवारले केही दिनमा आउने बताएको प्रजिअ कडरियाले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने र उनीहरूको परिवारलाई राहत रकम उपलब्ध गराउने यसअघि नै सरकारले घोषणा गरेको थियो । सोही अनुसार जिल्लाका शहीद परिवारलाई रकम वितरण गरिएको प्रजिअ कडरियाले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस