रौतहट, २६ असोज। रौतहटको गुजरा नगरपालिका–२, कटानी टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई-दुईजनालाई कटानीटोलको छुट्टाछुट्टै स्थानबाट समातिएको प्रहरीले जनाएको हो।
शनिबार राति करिब ९:३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौँका कोमन गुरुङ (२०) र सिन्धुलीका मनिष घलान (२१) लाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा मनिष घलानको पाइन्टको गोजीबाट कालो प्लास्टिकमा बेरेर लुकाइएको ९.३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।
उनीहरूको बयान र थप अनुसन्धानका आधारमा प्रहरीले आइतबार बिहान करिब ९:३० बजे कटानी टोलकै ज्ञानबहादुर थिङ (सञ्जु) (४०) र आजत अन्सारी (२०) लाई पनि नियन्त्रणमा लियो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, सञ्जु थिङको घर खानतलासी गर्दा स-साना २० पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ (१.८६० ग्राम), ‘Nitrazepam’ लेखिएका १३ थान ट्याबलेट र नगद रू. ६५,१०० बरामद भएको छ। बरामद लागूऔषधको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


