काठमाडौं, २६ असोज। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको हो।
महरामाथि २०७९ पुस १० मा फ्लाई दुबईको उडान एफजेट ०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङले ल्याएको सुन तस्करी प्रकरणमा दबाब र संलग्नताको आरोप लागेको छ।
लि हानसङले ल्याएको दुई सुटकेशमा ७३ बट्टा भेप पत्ता लागेको थियो, जसभित्र ७३० थान भेपमा सुन लुकाइएका थिए। सो सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर थियो। अनुसन्धानका क्रममा उक्त सुन भन्सारका नासु रेवन्त खड्काको मिलेमतोमा बेचिएको प्रमाण फेला परेको बताइन्छ।
सुन छुटाउन महराले भन्सार अधिकारीहरूमा दबाब दिएको आरोप छ। सोही प्रकरणमा उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर कारागार चलान भएका थिए। सीआईबीले केही दिनअघि महराको बयान लिएको थियो।
अनुसन्धानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लि हानसङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच नियमित सम्पर्क र संवाद भएको कल रेकर्डले पुष्टि गरेको बताइएको छ।
यसअघि पनि महरा सो प्रकरणमा अनुसन्धानको दायरामा परेका थिए, तर राजनीतिक शक्ति र प्रभावका कारण फाइल अघि बढ्न सकेको थिएन। यसपटक भने सीआईबीले थप प्रमाणका आधारमा उनलाई पक्राउ गरेको हो।


