पटेर्वा सुगौलीमा अब कानुनी उमेर पुगेकालाई मात्र विवाह सिफारिस दिने अभियान सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • ५ पटक पढिएको
पटेर्वा सुगौलीमा अब कानुनी उमेर पुगेकालाई मात्र विवाह सिफारिस दिने अभियान सुरु

वीरगञ्ज, २७ असोज। पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ ले बालविवाह रोकथाम र कानुनी उमेर पुगेकालाई मात्र विवाहको सिफारिस दिने अभियान सुरु गरेको छ ।

वडा अध्यक्ष विपिन मुखियाको नेतृत्वमा सञ्चालित पहलले वडा क्षेत्रभित्र २० वर्ष उमेर पूरा नगरेका कुनै पनि महिला वा पुरुषलाई विवाह गर्न नदिइने र विवाहको सिफारिस पनि प्रदान नगर्ने नीति लागू गरेको छ ।

अभियानअन्तर्गत वडा नं. ५ निवासी नजिर मिया धुनिया र रोकायदा खातुनको कानुनी उमेर (२० वर्ष) पुगेको प्रमाणित भएपछि वडा कार्यालयले उनीहरूको विवाहका लागि अनुमति पत्र जारी गरेको छ । रोकायदा खातुनको विवाह वीरगञ्ज–२३ भलुही निवासी अयुब मंसुरीसँग हुने तय भएको छ ।

वडा कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ, “विवाहका लागि उमेर २० वर्ष पूरा हुनुपर्छ, बालविवाह जघन्य अपराध हो ।”

वडा अध्यक्ष विपिन मुखियाले बालविवाह पूर्ण रूपमा रोक्न कडा नीति अपनाइएको बताए । उनले भने, “हामीले वडामा अबदेखि कुनै पनि बालविवाह हुन नदिने निर्णय गरेका छौँ । विवाह सिफारिसका लागि दुवै पक्षको कानुनी उमेर पुगेको प्रमाण अनिवार्य हुनेछ ।”

स्थानीयवासी पारस साहले वडा कार्यालयले चलाएको अभियानलाई समाजमा बालविवाह अन्त्यतर्फको सकारात्मक र अनुकरणीय प्रयासका रूपमा स्वागत गरेका छन् । पहलले बालविवाहको कारण हुने सामाजिक, स्वास्थ्य र शैक्षिक समस्याहरूलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अभियानलाई अन्य वडा र स्थानीय तहहरूले पनि अनुसरण गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । बालविवाहविरुद्धको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस