गरुडामा बरामद १३३ किलो गाँजा खाल्डोमा जलाएर नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • ३ पटक पढिएको
गरुडामा बरामद १३३ किलो गाँजा खाल्डोमा जलाएर नष्ट

पवन कुमार उपाध्याय

रौतहट,२७ असोज। रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय गरुडाले झाझ पुल नजिकबाट बरामद गरिएको ठूलो परिमाणमा लागुऔषध गाँजा सोमबार खाल्डोमा जलाएर नष्ट गरेको छ।

प्रहरीका अनुसार साउन ६ गते चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ग.८ च.६८९६ नम्बरको रातो रङको कारमा ठूलो परिमाणमा गाँजा लोड गरिएको अवस्थामा फेला परेको थियो। अस्थायी ट्राफिक प्रहरी पोस्ट गरूडाबाट खटिएको प्रहरी टोलीले उक्त कारलाई रोक्न खोज्दा चालकले प्रहरीको चेकपोइन्ट छलेर दक्षिणतर्फ भागेका थिए।

पछ्याउने क्रममा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त कारलाई गरुडा नगरपालिका–५ मा रहेको क्रशर उद्योग छेउमा फेला पारेको थियो। तर, चालक कार छोडेर फरार भएका थिए।

तलासीका क्रममा कारभित्र झोलामा प्याक गरिएको १३ पोका १३३ किलो गाँजा बरामद भएको प्रहरीले बताएका थिए । बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा राखिएको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतबाट अनुमति प्राप्त गरेपछि सोमबार बिहान इलाका प्रहरी कार्यालय गरुडाको उत्तरतर्फ खाल्डो खनी उक्त गाँजा जलाएर नष्ट गरेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा सञ्चारकर्मी, स्थानीय सरोकारवाला निकायका प्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा १३३ किलो लागुऔषध गाँजा नष्ट गरिएको छ।

प्रहरी निरीक्षक यादवले यस अभियानलाई अझ प्रभावकारी बनाउन समुदायको सहकार्य आवश्यक रहेको बताए। लागुऔषध दुव्र्यसन र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै इलाका प्रहरी कार्यालय गरुडाले निरन्तर रूपमा निगरानी र कारबाही अभियान सञ्चालन गर्दै आएको जनाए।

ताजा अपडेट

खोजी गर्नुहोस