सुनसरी, ३० असोज। सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाडी छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति बर्जु गाउँपालिका-३ स्थित खरी टोलमा प्रहरी चौकी अमडुवाबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा रहेको एक बोलेरो गाडीलाई जाँच गर्न खोजेको थियो।
तर, प्रहरीलाई देख्नासाथ गाडीमा सवार अपरिचित व्यक्तिहरू गाडी छाडेर अँध्यारोको फाइदा उठाउँदै भागेका थिए।
प्रहरीले उक्त नम्बर नखुलेको बोलेरो गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ३ सय किलोग्राम गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा र गाडीलाई नियन्त्रणमा लिइएको छ। फरार व्यक्तिहरूको पहिचान गरी खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


