काठमाडौं, ३० असोज। बुधबार अपराह्न फिदिममा ट्राफिक प्रहरीले सवारी जाँच गरिरहेको थियो । त्यहीबेला इलामतर्फबाट एउटा पिकअप जिप रफ्तारमा आयो । प्रहरीले रोक्न गरेको संकेत नमानी हेवा खोलातर्फ बत्तियो ।
ट्राफिक र सँगै रहेका प्रहरीले चालकको अस्वाभाविक व्यवहार देखेर पिछा गर्न थाले । अघिअघि पिकअप, पछिपछि दुई वटा मोटरसाइकलमा तीन जना प्रहरी थिए । फिदिमदेखि करिब २० किलोमिटर दुरीमा रहेको सल्लेरी बजार पुगेपछि पिकअप मेची राजमार्ग छाडेर कच्ची बाटो समात्दै सुभाङतर्फ मोडियो । त्यहाँबाट सुभाङतर्फ जाने बाटो छोडेर एकचेपातर्फ झर्न थाल्यो ।
एकचेपा स्कुलनजिक पुगेपछि पिछा गरिरहेका प्रहरी सदरमुकामतर्फ फर्किए । उनीहरु फर्किएलगत्तै सल्लेरीबाट एकचेपा हुँदै तमोर करिडोरतर्फ अघि बढिरहेको पिकअप दुर्घटनामा परेर चालकको मृत्यु भएको खबर आयो ।
दुर्घटनालगत्तै स्थानीय र नजिकका जनप्रतिनिधि दुर्घटना स्थलमा आए, केहीबेरमा प्रहरी पनि पुग्यो । घटनास्थल मुचुल्का बनाउने क्रममा गाडीभित्र जाँच गर्दा बा७च ५४४९ नम्बर प्लेट र सोही गाडीको ब्लु बुक भेटियो, गाडीबाहिर टाँसिएको प्लेटमा भने गाडी नम्बर ना२च १६५१ लेखिएको थियो ।
कागजात र गाडीमा भएको नम्बर फरक-फरक भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा दुर्घटनामा परेको गाडी १५६१ नभएर ५४४९ नै रहेको पुष्टि भयो । असोज २४ गते काठमाडौंको दक्षिणकाली–६ बैरेनीबाट लुटिएको उक्त गाडी सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय सुरेश श्रेष्ठको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
असोज २४ गते राति बैरेनीमा गाडी लुट्नुअघि श्रेष्ठको हत्या भएको थियो । उनको हत्यापछि लुटिएको गाडी विभिन्न ठाउँ घुमाउँदै पाँचथर ल्याइपुर्याउँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्ण गाडीको चेसिस, इन्जिन र अन्य प्रमाण काठमाडौंको उक्त घटनामा लुटिएको पिकअपसँग मेल खाएको बताउँछन् । काठमाडौंमा बसेर पिकअप चलाँउदै आएका श्रेष्ठको हत्या गरी गाडी लुटिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । श्रेष्ठको शव भने असोज २५ गते काठमाडौंको कीर्तिपुरस्थित डुकुछापमा हत्या गरिएको अवस्थामा भेटिएपछि गाडी खोज्ने क्रमलाई प्रहरीले तीव्रता दिएको थियो ।
श्रेष्ठको हत्या कसले गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहे पनि प्रमाण भेटिरहेको थिएन । हत्या भएको एक सातापछि पाँचथरमा उक्त पिकअप दुर्घटनामा परेको हो ।
नियमित जाँचका क्रममा सडकमा आइपुगेको सवारीका कागजात देखाउनको साटो भागेपछि शंका लागेर गाडीको पिछा गरेको प्रहरीले जनाएको छ । ‘चालकले लाइसेन्स र ब्लुबुक नदिई भागेपछि केही गडबड छ, गल्ती नगर्ने मान्छे त्यसरी भाग्दैन भन्ने लागेको थियो,’ डीएसपी कर्णले भने । दुर्घटनामा लाक्पा नुर्बु शेर्पाको शव भेटिएको हो । उनको साथबाट सवारी चालक अनुमति पत्र र केही अन्य कागजात पनि फेला परेका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भएका शेर्पा काठमाडौंमा बस्दै आएका थिए । दुई दिनअघि ताप्लेजुङमा रहेका बुबालाई फोन गरेर आफू गाउँमै चलाउन मिल्ने नयाँ गाडी लिएर आँउदै छु भनेर फोन गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी कर्णले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंबाट श्रेष्ठको हत्या गरी गाडी लुटिएको सीसी क्यामेरा फुटेज दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । त्यहीबेला लुटिएको गाडी पाँचथरमा दुर्घटनामा परेको हो ।


