काठमाडौं, ३१ असोज। पेरुमा जेन–जेड पुस्ताद्वारा नेतृत्व गरिएको आन्दोलन थप उग्र बनेको छ। नयाँ राष्ट्रपति जोसे जार्रीको राजीनामाको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन्।
सरकारी तथ्यांकअनुसार झडपमा ८० जना प्रहरी र १० पत्रकारसहित झन्डै १०० जना घाइते भएका छन्। एक प्रदर्शनकारीको गोली लागी मृत्यु भएको पुष्टि गरिएको छ। सो घटनाको अनुसन्धान सुरक्षा निकायहरूले थालेका छन्।
संसद भ्रमणपछि राष्ट्रपतिले देशको स्थिरता कायम राख्नु आफ्नो जिम्मेवारी भएको बताउँदै पदत्याग नगर्ने घोषणा गरेका छन्। जार्रीले मात्र एक हप्ता अघि अर्थात् अक्टोबर १० मा शपथ लिएका थिए, तर उनको शपथग्रहणलगत्तै विरोधको लहर तीव्र बनेको हो।
आन्दोलन सुरुमा युवाहरूका लागि पेन्सन सुधार र रोजगारीका अवसरको मागका रूपमा सुरु भएको थियो। तर, क्रमशः यो भ्रष्टाचार, अपराध नियन्त्रण र सरकारको असफलताविरुद्ध व्यापक जनआन्दोलनमा रूपान्तरण भयो।
सबैभन्दा चर्चित घटना भने ३२ वर्षीय हिप–हप गायक एडुआर्डो रुइजको हत्या हो। प्रदर्शनका क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको अभियोजकले बताएका छन्। सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा रुइज लिमाको सडकमा ढलेको देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार गोली चलाउने व्यक्ति सादा पोशाकका प्रहरी भएको शंका गरी भीडले पछ्याएको थियो।
हिंसात्मक झडपमा २४ प्रदर्शनकारी र ८० प्रहरी घाइते भएको राष्ट्रिय लोकपाल कार्यालयले जनाएको छ। पत्रकारमाथि पनि आक्रमण भएको छ, जसमा छ जनालाई गोली लागेको र चार जनालाई प्रहरीबाट नै निशाना बनाइएको बताइन्छ।
जोसे जार्री हालै अपदस्थ राष्ट्रपति दिना बोलुआर्टोको स्थानमा आएका हुन्। बोलुआर्टो प्रदर्शन नियन्त्रणमा असफल र अत्यधिक अलोकप्रिय भएकी थिइन्। ३८ वर्षीय जार्री पहिले संसदका सभामुख थिए भने उनका प्रधानमन्त्री अर्नेस्टो अल्भारेज अति दक्षिणपन्थी धारका पूर्व न्यायाधीश हुन्, जसले जेन–जेड आन्दोलनलाई “अराजकतावादी समूह”को संज्ञा दिएका थिए।
जार्री आफैं पनि विवादमा तानिएका छन्। उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो, यद्यपि अदालतले ती आरोप गत अगस्टमा खारेज गरेको थियो। तर प्रदर्शनकारीहरूले “बलात्कारी जार्री हो” जस्ता नारा लगाउँदै पुरानो मुद्दा पुनः उठाएका छन्।
विशेषज्ञहरूका अनुसार, पेरुमा लामो समयदेखि सरकार परिवर्तन, भ्रष्टाचार र बढ्दो अपराधका कारण जनआक्रोश बढ्दै आएको छ। समाजशास्त्री ओमर कोरोनेलका अनुसार “यो आन्दोलन दशकौँको निराशा र असफल नेतृत्वप्रति युवाहरूको प्रतिकार हो।” प्रदर्शनकारीहरूले हातमा ‘विरोध हाम्रो अधिकार हो, हत्या अपराध हो’ भन्ने ब्यानर बोकेका थिए।


