कार्तिक ०१ गते ।
कटहरिया नगरपालिका–६ फतेपुरस्थित श्री आधारभूत विद्यालयमा नयाँ प्रधानाध्यापक पवन कुमार चौधरीले शुक्रबार बिहान औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ ।
विद्यालय परिसरमै आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष जयराम चौधरीले गर्नुभएको थियो । कार्यक्रमका क्रममा वडाध्यक्ष चौधरी लगायत स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला व्यक्तिहरूले प्रधानाध्यापक चौधरीलाई खादा, माला र अबिर लगाई हार्दिक स्वागत गरेका थिए । स्वागत समारोह उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो । पदभार ग्रहणपछि आफ्ना भनाइ व्यक्त गर्दै प्रधानाध्यापक पवन कुमार चौधरीले विद्यालयको समग्र सुधारका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन् ।
उहाँले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना तथा विद्यार्थी अनुशासनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताउनु भयो । “हामीले कुनैपनि विद्यार्थी, शिक्षक वा व्यक्तिप्रति पक्षपात नगरी सबैलाई समान अवसर दिनेछौं । विद्यालयलाई उदाहरणीय शैक्षिक संस्थाको रूपमा रुपान्तरण गर्नका लागि म सम्पूर्ण शिक्षक–शिक्षिका र अभिभावकसँग सहकार्य गर्नेछु,” उहाँले भनुभयो ।प्रधानाध्यापक चौधरीले विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरूलाई समयमा विद्यालय उपस्थित भएर पठनपाठनमा सक्रिय सहभागिता जनाउन निर्देशन समेत दिनुभयो ।
विद्यालय समयमा अनुपस्थित हुने शिक्षकहरूविरुद्ध आवश्यक कारवाही गरिने चेतावनी पनि उहाँले दिनुभयो । साथै, उहाँले विद्यार्थीहरूलाई पनि समयमा विद्यालय उपस्थित भई अध्ययनमा मनोयोग दिन आग्रह गर्नुभयो ।उहाँले विद्यालय सुधारका लागि स्थानीय समुदाय, अभिभावक र नगरपालिकाको सहकार्य अपरिहार्य रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।उक्त विद्यालयको स्थापना वि.सं. २०३७ सालमा भएको हो। विद्यालयले लामो समयदेखि ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई आधारभूत शिक्षा प्रदान गर्दै आएको भए पनि हालसम्म यसको अवस्था कमजोर रहेको बताइएको छ । यसअघि प्रधानाध्यापकको जिम्मेवारी अच्छेलाल यादवले वहन गर्नुभएको थियो ।प्रधानाध्यापक चौधरीले विद्यालयको भौतिक संरचना सुधार, विद्यार्थी भर्ना वृद्धी, गुणस्तरीय शिक्षा र स्वच्छ शैक्षिक वातावरण निर्माणलाई पहिलो प्राथमिकता दिने योजना रहेको बताउनुभयो । स्थानीयवासीहरूले नयाँ नेतृत्वबाट विद्यालयको मुहार फेरिने अपेक्षा व्यक्त गर्दै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
पदभार ग्रहण कार्यक्रममा शिक्षक रंजन कर्ण, अशोक साह, क्रान्ती प्रसाद कुश्वाहा, प्रकाश साह स्थानिय राजनेतिककर्मि अंजित कुश्वाहा, राजदेव सहनी, प्रवेज आलम, उमाकान्त सहनी, देवेन्द्र सहनी लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।


