सर्लाही, ०१ कात्तिक। सर्लाहीको पर्सा गाउँपालिका – २ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालयले सीमा क्षेत्रको नियमित निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना बेला पिपरा ग्राम मुझैलियाका ईजरायल अन्सारी रहेको प्रहरीले जनाएको छ । अन्सारीलाई गाँजा पोकामा राखी भारततर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा गरिएको सक्रिय निगरानीका क्रममा हालै छोटो अवधिमै चोरीमा संलग्न तीन जना व्यक्ति समेत पक्राउ परेका छन् । सो क्रममा करिब दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका किराना सामान भन्सार कार्यालयमा बुझाइएको छ ।
स्थानीयवासीले प्रहरी इन्चार्ज क्षेत्रीको सक्रियता र जिम्मेवार कार्यशैलीका कारण सीमा क्षेत्रमा हुने चोरी तस्करीमा कमी आएको बताएका छन् । “क्षेत्री आएपछि अपराधीहरू सतर्क भएका छन्, हामी पनि सुरक्षित महसुस गर्न थालेका छौं,” एक स्थानीयले बताए ।


