कार्तीक १३गते । रौतहट
कटहरिया नगरपालिकामा तलब नपाएको कारण आक्रोशित कर्मचारीहरूले बुधबारदेखि पुनः तालाबन्दी गर्दै आन्दोलन सुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) गणेश नेपालीको लापरबाही र गैरजिम्मेवार व्यवहारकै कारण तलब रोकिएको आरोप लगाउँदै कर्मचारीहरूले नगरपालिकाको सबै वडासहित नगरपालिकाको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
आन्दोलित कर्मचारीहरूले वर्षभरि निरन्तर सेवा दिँदै आएको भए पनि तिहार र छठ जस्ता महत्वपूर्ण पर्वको समयमा तलब नपाउँदा परिवार चलाउन कठिनाइ भएको भन्दै गुनासो व्यक्त गरेका छन् । उनीहरू भन्छन्, “हामी दिनरात मेहनत गर्छौं, जनतालाई कुनै असुविधा नहोस् भनेर सधैं तत्पर रहन्छौं । तर हाम्रो मेहनतको पारिश्रमिक समयमा नपाउँदा ठूलो पीडा भएको छ ।”
कर्मचारीहरूले आरोप लगाएका छन् कि भर्खरै आएको उपसचिव गणेश नेपाली कार्यालयमा नियमित उपस्थित हुँदैनन् । “हामीलाई कुन विषयमा समस्या छ भनेर बुझ्ने चासो पनि राख्दैनन् । दुई–चार दिन आउँछन्, फाइल हेरेझैँ गरेर फर्किन्छन्,” एक आन्दोलित कर्मचारीले भने ।
गत असोज २३ गते नगर प्रमुख अजय प्रकाश जैसवाल र अधिकृत गणेश नेपाली दुबै जनाले तिहारअघि नै स्थायी, अस्थायी, करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई तलब वितरण गर्ने लिखित प्रतिबद्धता दिएका थिए । तर त्यो प्रतिबद्धता आजसम्म कार्यान्वयन नहुँदा असन्तुष्ट कर्मचारीहरूले अन्ततः तालाबन्दीमा जानु परेको बताएका छन् ।
आन्दोलनमा सामेल कर्मचारीहरूले नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। साथै बुधबारदेखि शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरिएको छ।
यसै विषयमा नगर प्रमुख अजय प्रकाश जैसवालसँग सोध्दा उनले उपसचिव गणेश नेपालीमाथि नै जिम्मेवारी टार्दै भने, “नगरपालिकामा कार्यरत सबै कर्मचारीलाई तलब वितरण गर्न म तयार छु। रेडबुकमा तलबका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। तर प्रमुख प्रशासकिय अधिकृत गणेश नेपालीको लापरबाहीका कारण तलब वितरण रोकिएको हो।”
जैसवालले थपे, “मैले पटक–पटक तलब निकासा गर्न निर्देशन दिएको छु, तर उनले विभिन्न बहाना बनाउँदै काम टारिरहेका छन्। यसरी प्रशासनिक जिम्मेवारी नबुझ्दा कर्मचारीहरू मारमा परेका छन्।”
आन्दोलित कर्मचारीहरूले चेतावनी दिएका छन् कि यदि तत्काल तलब वितरणको प्रक्रिया सुरु नगरिए भने आन्दोलनलाई अझ कडा रूप दिने छन्। उनीहरूले स्थानीय जनप्रतिनिधि र प्रशासनलाई छिटो समस्या समाधान गर्न माग गरेका छन्।


