वर्तमानकाल सम्वाददाता
कार्तिक १४ गते ।
रौतहटको मौलापुरमा नेकपा (एमाले) र आम जनता पार्टी (आजपा)बीच उत्पन्न राजनीतिक तनाव अन्ततः प्रहरीको सक्रियतामा शान्त भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको निर्देशनमा इलाका प्रहरी कार्यालय मौलापुरमा बुधबार साँझ दुबै दलका प्रतिनिधि—एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहा र आजपाका नेता ठागा दासलाई बोलाई छलफल गराइएको थियो । छलफलपछि दुबै दलबीच एकैदिन र एकैस्थानमा कार्यक्रम नगर्ने सहमति भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले जानकारी दिएका छन्।
इन्स्पेक्टर केसीका अनुसार, सहमति अनुसार मौलापुर बजारमा आजपा ले आज (बिहीबार) कार्यक्रम गर्ने र एमालेले आफ्नो कार्यक्रम पछाडि सार्ने निर्णय भएको थियो । तर सहमती पछी स्थानिय प्रशासनले कार्यक्रम नगर्न सुझाव दिएको कारण आजपा पक्षको कार्यक्रम स्थगित गरिएको आजपा नेता ठागा दासले बताएका छन्। यसअघि दुबै दलले मौलापुरमा एकैदिन शुभकामना आदान–प्रदान कार्यक्रम घोषणा गरेपछि राजनीतिक माहोल तातेको थियो।
एमालेको कार्यक्रम पूर्व निर्धारित भए पनि आजपाले बिरोध कार्यक्रमको तयारी गरेपछि स्थानीय स्तरमा तनाव सिर्जना भएको थियो।आजपाका कार्यकर्ताहरूले मंगलबार बैठक गरी एमालेको कार्यक्रमलाई असफल पार्ने निर्णय गरेको सूचना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुबै पक्षका नेता–कार्यकर्ता आरोप–प्रत्यारोपमा उत्रिएका थिए।
तर, प्रहरी प्रमुख एसपी रबिन कार्कीको सुझबुझ र समयमै गरिएको पहलका कारण सम्भावित झडपको अवस्था टरेको हो।एमाले नेता कुशवाहाले पछाडि हट्ने निर्णय लिएपछि स्थानीयवासीहरूले उनको कदमको प्रशंसा गरेका छन्।स्थानीय राजनीतिक विश्लेषकहरूले भनेका छन्, “प्रहरी प्रशासनले देखाएको संयमता र दुबै दलको सहमतिपूर्ण व्यवहारले रौतहटमा ठूलो घटना हुनबाट जोगाएको छ।”


