रमेश कुमार यादब
कार्तिक १४ गते ।
रौतहट, कार्तिक १३ – रौतहट जिल्लामा पछिल्ला दिनहरूमा फरार अभियुक्त तथा थुनुवाहरूलाई पक्राउ गर्न प्रहरीले अभियान तीव्र पारेको छ। यसै क्रममा फरार रहेका एक किर्ते अभियुक्तसहित जेनजी आन्दोलनका क्रममा भागेका दुई जना थुनुवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–१ का रामचन्द्र महतो कोइरीका छोरा ४२ वर्षीय रामपुकार महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि करिब ९ बिगाहा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा पर्ने २४ कित्ता जग्गा किर्ते खडा गरी गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गरेको गम्भीर आरोप छ।
जिल्ला अदालत रौतहटको फैसलाअनुसार उनी ‘किर्ते खडा गरी लिखित सम्बन्धी कसुर गरेको अभियोगमा फरार’ सूचीमा थिए। लामो समयदेखि फरार रहेका अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरी बुधबार जिल्ला अदालत गौरमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी इन्स्पेक्टर रुद्र कँडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
प्रहरीका अनुसार सो जग्गा किर्ते प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र अनुसन्धान कार्य पनि जारी रहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार “फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याएर सम्पूर्ण प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान अघि बढाइने” बताएका छन्।
यसैबीच, गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा भागेका दुई जना फरार थुनुवा पनि पक्राउ परेका छन्। सो आन्दोलनका क्रममा आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा तोडफोड र आगजनी गर्दा हिरासतमा रहेका कैदी थुनुवा भागेका थिए।
फरारमध्ये लागुऔषध मुद्दामा थुनामा रहेका चन्द्रपुर नगरपालिका–६ ठोकर टोलका पनिलाल दासलाई प्रहरीले कार्तिक १२ गते आफ्नै गाउँघर नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
त्यसैगरी, सोही आन्दोलनका क्रममा कारागार कार्यालय गौर, रौतहटबाट भागेका ८लागुऔषध मुद्दाका कैदी उमेश राना मगर ९२८ वर्ष०८लाई पनि प्रहरीले कार्तिक ११ गते पक्राउ गरेको छ। उनी चन्द्रपुर नगरपालिका–१ का बासिन्दा हुन्। दुवै फरार थुनुवालाई पक्राउ गरी थप अनुसन्धानपछि कानुनी कारबाहीका लागि कारागार कार्यालय गौरमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले जिल्लाभर फरार अभियुक्त तथा थुनुवाहरूलाई समात्ने विशेष अभियान सञ्चालन गरिरहेको बताएको छ। प्रहरीले नागरिकलाई सहयोगका लागि अपिल गर्दै फरार अपराधीहरूको सूचनामा सहयोग गर्न आग्रह गरेको छ।


