वर्तमानकाल सम्वाददाता
कार्तिक १३ गते ।
मधेस प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा तानिएकी छन् । उनीमाथि आफ्ना सासू–ससुरालाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ । सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्दै आएका उनका ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै बुहारी किरण साह र छोरा इन्जिनियर विनोद साहमाथि
शारीरिक र मानसिक दुव्र्यवहारको आरोप लगाएका छन् ।
देवनारायण साहले भिडियोमा भनेका छन्, ‘मैले आफ्नो जीवनको सम्पूर्ण मेहनत लगानी गरेर यो घर बनाएको हुँ, तर अहिले बुहारी किरण र छोरा विनोदले मलाई घरबाट निकालिदिए ।’ देवनारायणका अनुसार असोज २० गते मन्दिर गएको बेला घरको दराज फोडेर नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरिएको थियो । सोधपुछ गर्दा उल्टै आफू र श्रीमतीलाई कुटपिट गरी घरबाट निकालिएको उनको दाबी छ । असोज २२ गते आफूले जिल्ला प्रशासन कार्यालय सप्तरीमा औपचारिक उजुरी दर्ता गराएको देवनारायणको भनाइ छ ।
कात्तिक २ गते पुनः आफूमाथि कुटपिट भएको आरोप पनि उनले छोरा–बुहारीमाथि लगाएका छन् । देवनारायणले बुहारी किरण कुमारी साहमाथि पदको दुरुपयोग गरी प्रहरी र प्रशासनमा प्रभाव जमाउने प्रयास गरेको आरोपसमेत लगाएका छन् । ‘मैले उनलाई पढाएर वकिल बनाएको हुँ, तर अहिले उनी मलाई सडकमा ल्याउने प्रयास गर्दै छिन्,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक सांसद किरण कुमारी साहले आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेकी छन् । आफूमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने अभियान चलाइएको उनको भनाइ छ । उनका अनुसार साधारण पारिवारिक झगडालाई राजनीतिक रङ दिइएको हो । ‘यो मेरो राजनीतिक छवि बिगार्ने उद्देश्यले रचिएको षड्यन्त्र हो,’ प्रदेश सभा सदस्यसमेत रहेकी किरण
कुमारी साहले भनिन्, ‘चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबिच सामान्य विवाद भएको थियो, तर त्यसलाई अनावश्यक रूपमा ठुलो बनाइएको छ ।
’ सांसद साहले आफ्नी नन्द माधुरी साह जनमत पार्टीसँग आबद्ध नेतृ रहेको र यही राजनीतिक प्रतिस्पर्धाले पारिवारिक विवादलाई सार्वजनिक रूपमा तानिएको उनको आरोप छ । आफ्नो सासू–ससुरालाई नन्द माधुरीले उक्साइरहेको आरोप पनि उनले लगाइन् । पत्रकारसंष्ग कुरा गर्दै किरण कुमारीले ससुरा–सासूलाई आफूले घरबाट ननिकालेकी दाबी गरिन् । बरु उनीहरू आफैँ छोरीको घरमा गएको उनको जिकिर छ । ‘हामीले बारम्बार घर फर्किन आग्रह गरेका छौँ, तर उहाँहरू आउनुभएको छैन,’ उनले भनिन् ।


