वर्तमानकाल सम्वाददात
कार्तिक १५, रौतहट
रौतहटको कटहरिया नगरपालिकामा प्रशासनिक विवाद, कर्मचारी असन्तुष्टि र आन्दोलनबीच प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपालीको सरुवा भएको छ । तीन महिना अघि मात्र कटहरियामा कार्यभार सम्हालेका उपसचिव नेपालीले नगरपालिकामा देखिएका तलब, सेवा–सुविधा र प्रशासनिक समस्या समाधान गर्न नसकी मन्त्रालयमा सरुवा गराएका हुन् ।
नगरपालिकाका स्थायी, करार र ज्यालादारी कर्मचारीहरूले तलब नपाएको भन्दै गत तीन दिनदेखि नगरपालिकाको मुख्य कार्यालयदेखि सम्पूर्ण वडा कार्यालयसम्म तालाबन्दी र धर्ना जारी राखेका छन् । आन्दोलनरत कर्मचारीहरूले पटक–पटक नगर प्रमुख, कार्यपालिका र प्रशासनलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम नचालिएपछि उनीहरू आक्रोशित बनेका छन्।
नगरपालिकामा लामो समयदेखि प्रशासनिक अव्यवस्था, कर्मचारीबीचको असमझदारी र आर्थिक पारदर्शिताको अभावका कारण असन्तुष्टि बढ्दै आएको छ। यस्तो अवस्थामा समस्याको समाधान गर्न पठाइएका उपसचिव गणेश नेपालीले पालिकाको अवस्थाको सुधार गर्नुको सट्टा आफू असक्षम ठह¥याउँदै मन्त्रालय सरुवा गराएका हुन्।कर्मचारीहरूले आरोप लगाएका छन् कि नेपाल सरकारको तर्फबाट विश्वासका साथ पठाइएका उपसचिवले जिम्मेवारी पूरा नगरी ‘पलायन’ गरेपछि पालिकाको स्थिति झन् जटिल बनेको छ ।
नगर प्रमुख अजय प्रकाश जैसवालले भने आफूले कर्मचारीहरुको तलब वितरणका लागि ५ करोड रुपैयाँ रेडबुकमा नै राखिएको स्पष्ट पारेको बताए । “कर्मचारीहरुको तलब रोकिएर उनीहरुका परिवारले दिपावली र छठजस्ता महान पर्वमा दुःख भोग्नुपरेको देख्दा मलाई पनि दुःख लागेको छ,” नगर प्रमुख जैसवालले भने ।
नगर प्रमुखको भनाइ अनुसार कर्मचारीहरुको बक्यौता तलब भुक्तानी गर्न बारम्बार आदेश दिए पनि उपसचिवले आलटाल गर्दै काम नगरेको र अन्ततः फरार भएको आरोप लगाइएको छ । मेयर जैसवालका अनुसार, उपसचिव नेपालीले नगरपालिकामा देखिएको तलब विवाद समाधान गर्न कुनै पहल नगरी बिना जानकारी मन्त्रालयमा फिर्ता भएका हुन्, जसले गर्दा आन्दोलनले थप उग्र रूप लिएको छ ।
कर्मचारीहरूले व्यंग्य गर्दै भनेका छन्, “स्थानिय तहमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पठाइएका हाकिमहरू आफैं असक्षम देखिँदा हाम्रो समस्या समाधान हुने अपेक्षा अब रहँदैन ।” उनीहरूले थपे, “हामीले सोचेका थियौँ, उपसचिव आउँदा केही सुधार होला, तर बास्तवमा जुन जोगी आयो कानै चिरेको भन्ने उखान सत्य सावित भयो ।
” यता नगरपालिकाका जनप्रतिनिधि र प्रशासनबीच पनि असमझदारी बढ्दै गएको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि पालिकाको प्रशासनिक कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरूलाई समेत समस्या परेको छ । स्थानीयहरूले सरकारको ध्यानाकर्षण गराउँदै भनेका छन् कि, कटहरिया नगरपालिका विगत केही महिनादेखि लगातार विवाद र अस्थिरतामा डुबेको छ । तत्काल प्रभावकारी कदम नचालिए जनसेवा र विकासका सबै कार्यक्रम ठप्प हुने अवस्था आउन सक्ने चेतावनी कर्मचारीले दिएका छन ।


