वीरगञ्ज, १७ कार्तिक। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले उद्योगहरूको डेडिकेटेड विद्युत् लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् । आइतबार बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा सोनलले विद्युत् आपूर्ति पुन सुचारु गर्न माग राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सोनलले भने, “डेडिकेटेड लाइनको नाममा उद्योगहरूको लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने स्थिति छ । यो समस्या तत्काल समाधान गरियोस् ।” उनले सङ्घीय सरकारले प्रदेशलाई दिने अनुदान नकाटिएको अर्थमन्त्रीबाट जवाफ पाएको पनि बताए । प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन तयारी, सरकारका प्राथमिकता र विश्वासको वातावरण निर्माणलगायत विषयमा छलफल गरेकी थिइन् ।
बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशहरूलाई थप सशक्त बनाउन सङ्घीय सरकारको भूमिका, भयमुक्त निर्वाचन वातावरण र सुरक्षा निकायको मनोबल वृद्धि, जेनजी आन्दोलन पश्चात् पुनर्निर्माणलगायतका विषय उठाएका थिए ।
त्यस्तै सोनलले यस वर्षको खडेरी–अतिवृष्टिबाट प्रभावित मधेस प्रदेशका कृषकहरूको लागि विशेष प्याकेजको घोषणा गर्न पनि प्रधानमन्त्री कार्कीसँग माग गरे । उनले प्रदेशहरूको बजेट कटौती नगर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले सबै विषयमा सकारात्मक प्रतिक्रिया दिँदै बजेट कटौती नहुने, सहकार्य गरेर चुनावी वातावरण बनाउने आश्वासन दिइन् । उनले कुर्सीमा लामो समय बस्ने इच्छा नरहेको र निर्वाचन गराएर जनादेश अनुसार अघि बढ्ने बताएकी छिन् ।
बैठकमा मितव्ययी खर्च, स्वकीय सचिव–करार कर्मचारी हटाउने र १० लाखमाथिका योजना टेन्डरबाट कार्यान्वयन गर्ने सङ्घीय निर्देशन पनि छलफल भएको मन्त्री सोनलले जानकारी दिए । प्रदेशहरू यसमा सकारात्मक रहेको सोनलको भनाइ छ । लामो छलफलले संघ–प्रदेश समन्वय मजबुत हुने अपेक्षा गरिएको छ ।


