वीरगञ्ज, १७ कार्तिक। भारतीय महिला क्रिकेट टोलीले इतिहास रचेको छ । आइसिसी महिला एक दिवसीय विश्वकप २०२५ को फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक भरतले विश्व कपको प्रतिष्ठित उपाधि हात पारेको हो ।
भारतको डीवाई पाटिल स्टेडियममा आइतबार भएको रोमाञ्चक फाइनलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रनको चुनौतीपूर्ण लक्ष्य दियो । जवाफमा दक्षिण अफ्रिकाले ४५.३ ओभरमा २४६ रनमा अलआउट भयो ।
जितसँगै कप्तान हरमनप्रीत कौरको नेतृत्वमा भारतीय टोलीले लामो समयदेखिको सपना पूरा गरेको छ । यसअघि २००५ र २०१७ मा फाइनल पुगेर अस्ट्रेलिया र इङ्ल्याण्डसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो । जितले भारतीय महिलाको क्रिकेटमा नयाँ युगको सुरुवात गरेको छ ।
भारतको ब्याटिङमा ओपनर शाफाली भर्माले आक्रामक सुरुवात गर्दै ७८ बलमा ८७ रन (५ चौका, १ छक्का) बनाइन् । उनले स्मृति मन्दानासँग १०४ रनको साझेदारी गर्दै मजबुत आधार तयार पारिन् । साझेदारीमा मन्दानाले ४५ रनको योगदान दिइन् । मध्यक्रममा रिचा घोषले ३४ रन र दीप्ति शर्माले ५८ रन थपेर स्कोरलाई सम्मानजनक बनाए ।
दक्षिण अफ्रिकी बलर अयाबोङ्गा खाकाले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिइन् भने नोङ्कुलुलेको म्लाबा, नाडिन डे क्लर्क र क्लो ट्रायनले समान १–१ विकेट लिए ।
दक्षिण अफ्रिकाको जवाफमा राम्रो सुरुवात भए पनि भारतीय स्पिनरहरूको जालोमा फसे । कप्तान लौरा वोलवार्टले शानदार शतक (१०१ रन) ठोकेर टोलीलाई जित नजिक लाग्न प्रयास गरेपनि दीप्ति शर्माले फाइनलको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३९ रनमा ५ विकेट लिइन् । उनको स्पेलले दक्षिण अफ्रिकाको मध्यक्रम ढल्यो । शाफाली भर्माले पनि २ विकेट लिइन् । अन्य भारतीय बलरहरूले अनुशासित बलिङ गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखे । फाइनलको अन्तिम विकेटमा कप्तान हरमनप्रीत कौरले शानदार क्याच गर्दै टोलीको जित सुनिश्चित गरिन् ।
जित पश्चात् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्विटर) मार्फत टोलीलाई बधाई दिएका छन् । उनले लेखेका छन्, “भारतीय महिला क्रिकेट टोलीको यो ऐतिहासिक जितले हामीलाई गर्व महसुस गराउँछ । तपाईँहरूले न केवल उपाधि जित्नुभयो, बरु लाखौँ बालिकाहरूलाई क्रिकेटप्रति प्रेरित गर्नुभयो । जय हिन्द !” अन्य पूर्व खेलाडीहरू जस्तै रोहित शर्माले पनि भावुक प्रतिक्रिया दिएका छन् । एक्समा लाखौँ प्रशंसकहरूले #WomenInBlue, #CWC2025 जस्ता ह्यासट्याग प्रयोग गर्दै बधाई सन्देशहरू पठाएका छन् ।


