रौशन कुमार चौधरी
कार्तिक १९ गते ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय सर्लाहीका वरिष्ठ कृषि अधिकृत रामबलम प्रसाद साहको सरुवासँगै कार्यालय परिसरमा बुधबार एक भव्य विदाई तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरिएको छ । साहको सरुवा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय बारामा भएको हो ।
वरिष्ठ कृषि अधिकृत साहले सर्लाहीमा करिब तीन वर्षसम्म सेवा समर्पण गर्दै कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए । उनको कार्यकालमा मकै, धान, तरकारी, केरा तथा माछा जोन विकास कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका थिए ।
विदाई समारोहमा लेखापाल संजिव झा, प्राविधिक कर्मचारी, कार्यालय सहयोगी, विभिन्न कृषक समूहका प्रतिनिधि, सहकारी संस्था, कृषक उद्यमी तथा स्थानीय सरोकारवाला सहभागी थिए । उपस्थित सबैले साहको नेतृत्वमा कार्यालयले गरेको उपलब्धिको प्रशंसा गर्दै फूलमाला, मायाको चिनो र सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कृषि अधिकृत साहले सर्लाहीमा रहँदा पाएको सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गरे । उनले भने, “यो कार्यालयमा रहँदासम्म मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबै सहकर्मी, कृषक, सहकारी, समितिका पदाधिकारी र शुभेच्छुकप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
साहले आफ्नो कार्यकालमा कृषि उत्पादन वृद्धि, बजारीकरण र व्यवसायिकरणतर्फ उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै आगामी दिनमा पनि सर्लाहीका कृषक र कार्यालयबीच निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरे ।
उनले थपे, “हामी सबैको संयुक्त प्रयासले मात्रै कृषि आधुनिकीकरणको सपना साकार हुन सक्छ । सर्लाहीमा बिताएका तीन वर्ष मेरो जीवनका सबैभन्दा प्रेरणादायी र स्मरणीय क्षणहरू हुन् ।”
कार्यक्रममा उपस्थित कृषकहरूले साहको व्यावहारिक, सहयोगी र सरल स्वभावले कृषकहरूलाई आत्मनिर्भर बन्ने मार्ग देखाएको बताएका थिए । उनीहरूले नयाँ जिम्मेवारीमा पनि साहले कृषकहरूको हकहितका लागि निरन्तर काम गरिरहने विश्वास व्यक्त गरे ।
विदाई समारोहको अन्त्यमा उपस्थित सबैले सामूहिक फोटोसेसन गर्दै शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा खुसी र बिछोडको भावनात्मक माहोल देखिएको थियो ।


