अभिमनु पटेल, रौतहट, २२ कार्तिक ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) मा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रस्त ६० वर्षीय आलमलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
स्वास्थ्य अवस्थामा निरन्तर जटिलता देखिएपछि चिकित्सकहरूको परामर्शमा केही दिनअघि उनलाई थप उपचारका लागि भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। तर स्वास्थ्य अवस्था अत्यन्तै जोखिमपूर्ण भइसकेको भन्दै घरमै सेवा-सुसारमा राख्न सुझाव आएपछि उनी पुनः नेपाल फर्काइएका थिए। फर्किएपछि केएमसीमा उपचार जारी रहँदै आज विहान निधन भएको परिवारले जनाएको छ।
रौतहटमा मुस्लिम समुदायको प्रभावशाली राजनीतिक नेतृत्वको रूपमा स्थापित आलमले २०५६ र २०६४ सालमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका थिए। उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र नेता मानिन्थे। श्रम तथा रोजगार मन्त्रीसमेत रहेका आलम कांग्रेसभित्र मधेसी-मुस्लिम समुदायको संगठित नेतृत्व निर्माण गर्ने मुख्य पात्रको रूपमा परिचित थिए।
स्थानीय संगठन विस्तार, मतदातासँग प्रत्यक्ष सम्पर्क, र संगठनभित्र कार्यकर्ता परिचालनमा उनी प्रभावशाली रणनीतिक नेताका रूपमा चिनिन्थे।
२०७६ सालमा २०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोट आरोपमा आलम र उनका केही निकट सहयोगीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो। विस्फोटमा मृत्यु भएकाहरूलाई उपचार नगरी ईँटाभट्टामा जलाएको आरोपमा आलम पक्राउ परेपछि उक्त मुद्दा लामो समयसम्म राष्ट्रिय बहसको विषय रह्यो।
उनी करिब ६ वर्ष जेलमा रहे। आलम र उनका परिवारले सो मुद्दालाई राजनीतिक प्रतिशोधका आधारमा लगाइएको आरोप बताउँदै आएका थिए। गत जेठमा उच्च अदालतले आदेश दिँदै उनीसहित केही आरोपीहरूलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन।
नक्खु कारागारमा रहेको समयदेखि नै उनको स्वास्थ्य जटिल बन्दै गएको थियो। ब्रेन स्ट्रोक, दुबै मृगौला क्षतिग्रस्त, आन्द्रामा संक्रमण लगायतका समस्या देखिएपछि अन्नपूर्ण न्यूरो, वीर अस्पताल, केएमसी लगायत स्वास्थ्य संस्थाहरूमा पटक-पटक उपचार गरिएको थियो।
उनको पार्थिव शरीर काठमाडौँबाट रौतहटस्थित गृहजिल्ला लगिने तयारी छ। नेपाली काँग्रेस, स्थानीय राजनीतिक नेतृत्व, समर्थक, शुभचिन्तक तथा मुस्लिम समुदायले गहिरो शोक व्यक्त गरेका छन्।
स्व.अफताब आलमका राजनीतिक योगदान, शक्ति-सन्तुलनमा उनी निभाएको भूमिका, समुदायको प्रतिनिधित्व, साथै विवाद आरोप–प्रत्यारोप दुवैले उनलाई नेपाली राजनीतिक इतिहासमा विशिष्ट र बहसयोग्य पात्रका रूपमा उभ्याएको छ।


