रौतहट २३ कार्तिक
जिल्लाको फतुवा बिजयपुर नगरपालिका २ शितलपुरका शंकर साह बनियाको हत्या प्रकरणका वास्तविक दोषीमाथि तत्काल कारबाहीको माग गर्दै पीडित परिवार तथा स्थानीय बासिन्दाहरूले आइतबार जिल्ला अदालत गौर अगाडि विरोध जुलुससहित प्रदर्शन गरेका छन्।
जग्गा विवादको क्रममा केही दिनअघि कुटपिटबाट गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका साहको न्यायका लागि उनीहरूले जिल्ला अदालतको ढोका अगाडि धर्ना दिएका हुन्। आइतबार सोही मुद्दाको बहस रहेकोले न्यायपालिकामाथि दबाब सिर्जना गर्न यो प्रदर्शन गरिएको उनीहरूको भनाइ रहेको छ।
प्रदर्शनकारीहरूले यस घटनाको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। मृतकका छोरा धर्मेन्द्र साह र सन्तोष साहले प्रहरी प्रशासनले वास्तविक दोषीलाई जोगाउन खोजेको आरोप लगाएका छन्।
उनीहरूका अनुसार सितलपुर टोलका अं. ५० वर्षीय कपिलदेव यादव, अं. ४० वर्षीय बिनोद यादव र मृतक शंकर साह बानियाबीच जग्गाको विषयलाई लिएर झैझगडा र कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर चोट लागेका साहको एल.एस. न्युरो अस्पताल बारामा उपचारका क्रममा मृत्यु भएको थियो।
पीडित परिवारको दाबी छ कि इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्र यादवले नेपाल प्रहरीको हवल्दार पदमा टारी पर्सामा कार्यरत कपिलदेव यादवका भाई हरदेब यादवसँग ६ लाखको लेनदेन गरी वास्तविक दोषीहरूलाई बचाएर कपिलदेव यादवलाई मात्र मुद्दाको कमाण्ड अगाडि बढाएका छन्। पीडित पक्षले प्रहरी बिक्री भएको तर न्यायालय बिक्री नहोस् भन्ने उद्देश्यले प्रदर्शन गरिएको बताएका छन्।
प्रदर्शनमा सहभागी भएका फतुवा बिजयपुर पालिकाका वडा नं २ का अध्यक्ष संञ्जय (अनिरुद्ध) यादवले राज्यको पक्षपातपूर्ण रवैयाका कारण पीडितहरू न्याय माग्न सडकमा आउन बाध्य भएको बताए। उनले दोषीलाई तत्काल कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।
आइतबार करिब २०० जनाको संख्यामा भेला भएका मृतकका छोरा धर्मेन्द्र साह र सन्तोष साहको नेतृत्वमा पीडित परिवार र स्थानीयहरूले दिउँसो २ बजेदेखि जिल्ला अदालतको ढोका अगाडि धर्ना तथा प्रदर्शनमा बसेका थिए। उनीहरूले “हत्यारालाई कारबाही गर,” प्रहरीको मिलेमतो बन्द गर” लगायतका नारा लगाएका थिए।
पीडित परिवारले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


