
वीरगञ्ज, २९ कात्तिक। विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जमा साइबर ठगीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरूले सर्वसाधारणलाई झुक्क्याएर प्रलोभनमा पारी विभिन्न बैंकका ‘मनी मूल’ खाता खोलाई सामाजिक सञ्जालमार्फत फिसिङ, ओटीपी फ्रड, जागिर स्क्याम, फेक अनलाइन बिजनेस स्क्याम र एआई प्रविधिबाट कम्पनीका कागजात तथा अर्डर बिल बनाएर ठगी गर्दै आएका थिए ।
पक्राउ परेकाहरूले विभिन्न व्यक्तिका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी करिब १० करोडभन्दा बढी अवैध कारोबार गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, बुधवार करिब १२ बजेतिर वीरगञ्ज महानगरपालिका – ८ स्थित प्रभु अस्पताल अगाडिको सडकखण्डबाट उक्त गिरोहलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका ४३ थान एटिएम कार्ड बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार पक्राउ पर्नेहरूमा वीरगञ्ज – २९ मुसौली बस्ने ३५ वर्षीय कृष्ण प्रसाद साह, बाराको विश्रामपुर गाउँपालिका – १ बस्ने २१ वर्षीय राहुल मण्डल र एक जना १४ वर्षीय नाबालक रहेका छन् ।
प्रहरीले उनीहरू विरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएको छ । थप अनुसन्धान जारी रहेको एसपी पाठकले जानकारी दिए ।
टनाले साइबर अपराधको बढ्दो जोखिमलाई उजागर गरेको छ । प्रहरीले सर्वसाधारणलाई अनलाइन प्रलोभन र स्क्यामबाट सतर्क रहन आग्रह गरेको छ ।
