कृष्ण तिवारी ,३० गते । रौतहट ।
देवाही गोनाही नगरपालिकाले आर्थिक वर्ष २०८२/८३का लागि ५३ करोड १६ लाख ३२ हजार ६ सय ७६ रुपैयाँको बजेट ल्याएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा कृषिलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । देवाही गोनाही नगरपालिकाको आइतबार सम्पन्न नगर सभा तथा ११औँ अधिवेशनमा नगर प्रमुख प्रेमलाल साहले देवाही गोनाही नगरपालिकालाइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषिलाई विशेष प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कृषिको विकासका लागि पालिकाभित्र कृषियोग्य भूमिमा नियमित सिँचाइ गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, सिमसारलगायत क्षेत्रमा पानीको मुहान संरक्षण, भूमिगत जलभण्डार स्थिर राख्नु साथै सिँचाइ, पर्यटन, रोजगारी सिर्जना गरी नगरवासीको आर्थिक स्तर उकास्ने नीति सार्वजनिक गर्नुभएको हो ।
देवाही गोनाही नगरपालिकाले नगर क्षेत्रमा निर्माण भएका जलाशयमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय सञ्चालन गरिने र कृषि उत्पादन एवं उत्पादकत्व बढाउन बहुउद्देश्यीय जलाशय निर्माण गरिने भएको छ । नगरप्रमुख साहले नगर सभामा उत्पादनको आधारमा विभिन्न वडालाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरिने उल्लेख गर्नुभयो । बाँझो तथा उपयोगविहीन जमिनलाई कृषि उत्पादन कार्यमा उपयोग गर्न तथा करार खेतीलाई प्रोत्साहन गर्न भूमि बैङ्कको अवधारणा कार्यान्वयन गर्ने उल्लेख छ ।
पर्यटन तथा संस्कृति प्रवर्धनका लागि कला, साहित्य, संस्कृतिको संरक्षण तथा प्रवर्धनका साथै अध्ययन अनुसन्धानमा जोड दिइने भएको छ । पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलरी, शारीरिक रूपमा अशक्त, एकल महिला परिवारलाई लक्षित गरी कृषि तथा गैरकृषिसम्बन्धी आयमूलक सिप सिकाइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकालाई वातावरणमैत्री बनाउनका लागि धुँवारहित घोषणा गर्ने, नगर क्षेत्रको विकास तथा स्थानीयस्तरमा रोजगारी सृजनाका लागि लघु, घरेलु तथा साना उद्योग, कृषि र पशुपालनमा जोड दिनेलगायत क्षेतत्रगत नीतिमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले बताए ।कार्यक्रममा वडा अध्यक्षहरु वडा सदस्य कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख हरु कर्मचारीहरु स्थानीय भद्र भलादमी बुद्धिजीवी सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


