वीरगञ्ज , ०१ मंसिर। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालबाट खटिएका विभिन्न टोलीहरूले पर्सा जिल्लामा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल फोन, कपडा, किराना, पशुचौपाया, तोरी तथा एउटा मोटरसाइकलसहित कुल १७ लाख १ हजार ८४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
कार्तिक ३० गते सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) महादेवपट्टीबाट खटिएको टोलीले जिल्लाको जिराभवानी गाउँपालिका–१ बलुवास्थित स्थानीय मुस्तुफा मियाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा ९ लाख रुपैयाँ बराबरको १५ कार्टुन अर्थात् कुल ४५० पिस लाभा किप्याड मोबाइल फोन बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
सोही दिन सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२ भगुवा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी बीआर २९ टी ९४११ नम्बरको मोटरसाइकलमा लोड गरेर परवानीपुरतर्फ लैजाँदै गरेको ३ लाख ८० हजार ४२० रुपैयाँ बराबरको कपडा र किराना सामान तथा सो कार्यमा प्रयोग भएको १ लाख रुपैयाँको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ को सीमा इलाकाबाट ३ लाख २१ हजार ४२० रुपैयाँ बराबरको कपडा, किराना सामान तथा पशुचौपाया बरामद गरेको छ भने गुल्म मातहत अलौबाट खटिएको अर्को टोलीले विन्दवासिनी गाउँपालिका–५ झौवाबाट ११ हजार रुपैयाँ बराबरको तोरी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सबै सामानहरू एकै दिन भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।


