वीरगञ्ज , ०१ मंसिर। साउदी अरेबियाको मक्काबाट मदिना जाँदै गरेको भारतीय उमरा तीर्थयात्री चढेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लाग्दा कम्तीमा ४२ जनाको ज्यान गएको छ ।
मृतकहरूमा २० जना महिला र ११ बालबालिका रहेका छन् । मृतकहरूमध्ये अधिकांश तेलंगाना राज्यको हैदराबादका बासिन्दा रहेको बुझिएको छ ।
दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर दूरीमा रहेको साउदीको मुहरास (मुफ्रिहात) नजिकै भएको हो । भारतीय समयअनुसार राति साढे १ बजे भएको दुर्घटनामा बसमा सवार ४३ देखि ४६ यात्रुहरू थिए ।
ठक्करपछि बसमा ठूलो आगलागी भएपछि सुतिरहेका यात्रुहरूलाई जोगाउन नसकिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा बस चालक मात्र जीवित बाँचेका छन् । उनको अहिले अस्पतालमा उपचार गराइँदै छ ।
दुर्घटनामा परेको समूह गत साता हैदराबादबाट साउदी प्रस्थान गरेको थियो । मक्कामा उमरा यात्रा सम्पन्न गरेर मदिना फर्कँदै गर्दा दुर्घटना भएको हो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, ठक्कर पश्चात् बस पूरै जल्दा धेरै शवहरू पहिचान गर्न कठिन भएको छ । उद्धार कार्यमा साउदी आपत्कालीन सेवाहरू परिचालित भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, “मदिनामा भएको यो दुर्घटनाले मलाई गहिरो रूपमा दुखी बनाएको छ ।
म शोकाकुल परिवारहरूसँग छु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । रियादस्थित दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले सबै सम्भव सहयोग गरिरहेका छन् ।”
विदेश मन्त्री एस जयशंकरले पनि “गहिरो स्तब्धता” व्यक्त गर्दै दूतावासहरूले पीडितहरूलाई पूर्ण सहयोग गरेको बताएका छन् ।
उनले शोकाकुल परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यसतै रक्षा मन्त्री राजनाथ सिंहले पनि शोक व्यक्त गर्दै साउदी प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गरेका छन् ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनामा स्तब्धता व्यक्त गर्दै प्रमुख सचिव के रामकृष्ण राव र डीजीपी बी शिवाधर रेड्डीलाई पीडितहरूको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन् । उनले दिल्लीस्थित अधिकारीहरूलाई साउदी दूतावाससँग समन्वय गर्न भनेका छन् ।
हैदराबादका सांसद आसादुद्दीन ओवैसीले पनि दुःख व्यक्त गर्दै दुई ट्राभल एजेन्सीहरूसँग सम्पर्क गरेर यात्रुहरूको विवरण दूतावासमा पठाएका छन् । उनले शवहरू छिट्टै स्वदेश ल्याउन र घाइतेहरूको उपचारका लागि सरकारलाई आग्रह गरेका छन् ।
दूतावासले साउदी हज तथा उमरा मन्त्रालय, स्थानीय प्राधिकरण र ट्राभल अपरेटरहरूसँग समन्वय गरिरहेको छ । शवहरूको पहिचान र फिर्ता प्रक्रिया तीव्र पारिएको छ ।


