किभ, ०५ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले बनाएको सो योजनाको मस्यौदा बाहिर आएको छ ।
मस्यौदामा युक्रेनलाई आफ्ना केही भू–भाग रुसलाई हस्तान्तरण गर्न र आफ्नो सेनाको आकार सीमित गर्न भनिएको छ । मस्यौदा अमेरिका र रुस बिचको वार्ताको परिणाम भएको बताइएको छ ।
यसमा कयौँ यस्ता सर्तहरू छन् जुन रुसको हितमा छ । रुसले लगभग ४ वर्ष पहिले युक्रेनमा आक्रमण गरेर यो द्वन्द्व सुरु गरेको थियो । यो योजना स्वीकार गर्नु युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका लागि अत्यन्तै गाह्रो हुने विज्ञहरूले भन्न थालेका छन् ।
जेलेन्स्कीले पहिले पनि रुसलाई भूमि दिनुपर्ने ट्रम्पको मागलाई अस्वीकार गरिसकेका छन् ।
युरोपेली देशहरूले आपत्ति जनाउँदै यस्तो प्रस्तावले रुसी आक्रमणलाई प्रोत्साहन गर्ने र पुटिनलाई बलियो बनाउने तर्क गरेका छन् ।
मस्यौदाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुनबाट रोक्ने प्रस्ताव गरेको छ । योसँगै यसले भविष्यमा नाटोको विस्तारलाई पनि रोक्ने सुझाव दिएको छ ।
रुसले नेटोलाई खतराको रूपमा हेर्ने गरेको छ । त्यसैले पछिल्लो प्रस्ताव रुसका लागि एक प्रमुख रणनीतिक विजय हुनेछ ।
प्रस्तावअनुसार रुसले पूर्वी युक्रेनको सम्पूर्ण डोनबास क्षेत्रमाथि नियन्त्रण प्राप्त गर्नेछ । यसको करिब १४ प्रतिशत भू–भाग अझै युक्रेनसँग छ ।
तर मस्यौदा अनुसार रुसले यो पनि पाउनेछ । मस्यौदामा रुस विरुद्धका धेरै प्रतिबन्धहरू हटाउने र एक समयको शक्तिशाली जीएट समूहमा पुनः एकीकरण गर्ने उपाय पनि सुझाइएको छ ।
अमेरिकाको यस पहलले जेलेन्स्कीमाथि दबाब बढाएको छ ।ट्रम्पका विशेष दूत स्टीव विटकफले जेलेन्स्कीका नजिकका सल्लाहकार रुस्तम उमरोभसँग कुरा गरेपछि मस्यौदा तयार पार्न सुरु भएको स्रोतहरूले जनाएका छन् ।
केही परिवर्तनहरू पछि उमरोभले मस्यौदाको अधिकांश भागमा सहमति जनाएको र यसलाई जेलेन्स्कीसमक्ष पेस गरेको पनि भनिएको छ । बिहीबार अमेरिकी सेनाका डान ड्रिस्कोल पनि किभ पुगेर जेलेन्स्कीसँग मस्यौदामाथि छलफल गरेका थिए ।
सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा जेलेन्स्कीले शान्ति योजनाको प्रावधानमा दुई देश मिलेर काम गर्ने बताएका थिए । उनले मस्यौदाको विषयवस्तुमा प्रत्यक्ष टिप्पणी गरेनन् ।
तर युक्रेनी र अमेरिकी टोलीले युद्ध अन्त्य गर्ने योजनाको प्रावधानमाथि काम गर्ने र आफूहरू रचनात्मक र छिटो अगाडि बढ्न तयार रहेको भनेका थिए ।
मस्यौदामा रुसले भविष्यमा कुनै पनि आक्रमण नगर्ने वाचा गर्ने पनि उल्लेख छ । जफत गरिएको झन्डै १ खर्ब डलर बराबरको रुसी सम्पत्ति युक्रेनको पुनर्निर्माणका लागि प्रयोग गरिनेछ ।
यद्यपि रुसलाई जग्गा हस्तान्तरण गर्ने माग पूरा गर्नु युक्रेनको लागि गाह्रो छ । यो उसको संविधानको विरुद्धमा छ । यस्तो सम्झौता स्वीकार नगरिने जेलेन्स्कीले निरन्तर भन्दै आएका छन् ।
रुसले जापोरिझिया आणविक प्लान्टको आधा बिजुली पाउने
योजनाअनुसार रुसले जापोरिझियामा रहेको युरोपको सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्रबाट उत्पादन हुने आधा बिजुली प्रयोग गर्न पाउनेछ ।
युद्धको सुरुवातदेखि नै रुसले यो केन्द्रलाई कब्जा गरेको छ । युरोपेली देशहरूले भने यस्तो कुनै पनि योजनामा आफूहरूलाई बेवास्ता गर्न नहुने भनिरहेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र विटकफ एक महिनादेखि यस योजनामा चुपचाप काम गरिरहेको सुन्नमा आएको छ ।
यस प्रक्रियामा युक्रेन र रुस दुवैसँग स्वीकार्य सर्तहरूमा परामर्श गरिएको ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बताइन् ।
पुटिनका नजिकका सल्लाहकार किरिल दिमित्रिभ र विटकफले यस प्रक्रियामा प्रमुख भूमिका खेलेका थिए ।
मस्यौदा सार्वजनिक भएपछि युरोपेली देशहरूले असन्तुष्टि व्यक्त गर्दै आफूहरू र युक्रेनलाई पनि योजनामा समावेश गर्नुपर्ने बताएका छन् ।
ट्रम्प प्रशासनले युरोप र जेलेन्स्कीलाई वार्ताबाट बहिष्कार गरिरहेकोमा युरोप पहिलेदेखि नै चिन्तित थियो । पुटिनप्रति ट्रम्प नम्र देखिँदै आएका छन् ।
तर युद्ध अन्त्यमा आनाकानी गरेपछि गत महिना उनले रुसको तेल क्षेत्रमा कडा प्रतिबन्ध लगाएका थिए । सो प्रतिबन्ध शुक्रबारदेखि लागू हुँदै थियो ।


