रौतहट, ०७ मंसिर। रौतहटको चन्द्रपुर नगरपालिका–४, देउरालीचोकबाट शनिबार अपराह्न सशस्त्र प्रहरी बलले अत्याधुनिक विदेशी हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपालका इण्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अपरेसनमार्फत युवक पक्राउ परेको हो।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१३, पदमपोखरी निवासी गुणबहादुर आचार्यका २२ वर्षीय छोरा सुमन आचार्य रहेका छन्। चन्द्रपुर–देउराली क्षेत्र हुँदै पैदलयात्रा गरिरहेका आचार्यलाई शंका लागि चेकजाँच गर्दा उनीसंग विदेशी निर्मित पेस्तोल तथा बारुद फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सुरक्षा स्रोतका अनुसार आचार्यको साथबाट Made in Italy लेखिएको BERETTA पेस्तोल १ थान, सोही पेस्तोलको म्यागजिन १ थान, Browning पेस्तोल १ थान, Browning म्यागजिन १ थान, राउण्ड १३ गोटा, र खुकुरी १ थान बरामद गरिएको छ। बरामद सामग्रीहरू उच्च जोखिमयुक्त, तस्करी–सम्बन्धित वा सम्भावित संगठित आपराधिक गतिविधिमा प्रयोग हुने प्रकारका रहेको सुरक्षास्रोतहरूको आशंका छ।
यस सफल अपरेसनको श्रेय मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्ण ढकालको सक्रिय नेतृत्व, उच्च अनुगमन र सूचनाको संवेदनशील उपयोगलाई दिइएको छ। हालै प्रदेशभरि सञ्चालन भइरहेका सुरक्षा अपरेसनहरू उल्लेखनीय रूपमा सफल भइरहेका भन्दै स्रोतहरूले ढकालले लागू गरेको “Zero Tolerance Against Crime” नीतिले अपराध नियन्त्रणमा ठूलो प्रभाव पारेको उल्लेख गरेका छन्।
सशस्त्र प्रहरीले प्रारम्भिक सोधपुछ सम्पन्न गरिसकेको र आचार्यलाई आवश्यक कानुनी कारबाही तथा विस्तृत अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको बताइएको छ।
सीमावर्ती क्षेत्र तथा मुख्य सहरहरूमा अवैध हतियारसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्नु, अपराधी नेटवर्क र तस्करी चेनमाथि सुरक्षा एजेन्सीको कडा दबाब परेको स्पष्ट संकेत भएको सुरक्षाकर्मीहरूको भनाइ छ।
देउरालीचोकमा अत्याधुनिक हतियारसहित युवक पक्राउ परेको ताजा घटनाले मधेश प्रदेशमा सशस्त्र प्रहरी बलको सक्रियता र अपरेसनहरूको प्रभावकारिता झनै बलियो बन्दै गएको देखिएको छ।


