ओम प्रकाश यादव
रौतहट,०७ मंसिर। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले निर्वाचनको वातावरण अझै बनाउन नसकेको बताएका छन्।
वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन नसक्दा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा आशंका पैदा भएको उनले बताए। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको पार्टी प्रवेश तथा भेलामा बोल्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन्।
सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरे पनि आम मतदाताले निर्धक्क भएर मतदान स्थल पुगेर मत खसाल्ने वातावरण बनाउन नसकेको उनले बताए। नेपालको इतिहासमै पहिलोपटक प्रहरीको मनोबल गिराउने काम सरकारले गरेको आरोप लगाउँदै उनले भने, “निर्वाचनमा सुरक्षा दिने प्रहरी नै हो, तर त्यही प्रहरीको मनोबल गिराइयो भने निर्वाचनमा सुरक्षा कसरी सुनिश्चित हुन्छ?”
सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भन्ने मन्तव्यलाई उनले अलोकतान्त्रिक भने। उनले थपे, “लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन।”
यादवले लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव गराउने सोच नै गलत भएको टिप्पणी गर्दै संविधान र लोकतान्त्रिक मूल्य–मान्यतासँग सरकारको कदम मेल नखाने दाबी गरे।
कांग्रेस र कम्युनिस्टको चरम लुटखसोट र भ्रष्टाचारका कारण जेनजी आन्दोलन भएको उनले बताए। नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि कांग्रेस र कम्युनिस्टले नै निरन्तर सरकारको नेतृत्व गर्दै आए पनि देशको मुहार परिवर्तन गर्न नसकेको उनले आरोप लगाए।
कांग्रेस–कम्युनिस्टले ३५ वर्षदेखि देशमा भ्रष्टाचार र लुटतन्त्र बाहेक केही नगरेकाले नै जेनजी विद्रोह हुनुपरेको उनले स्पष्ट पारे। ३५ वर्षको अवधिमा भूटान जस्तो देश गरीबबाट धनी, अर्थात विकसित बने पनि नेपाललाई यिनै दलहरूले झन् गरीब बनाएको उनको भनाइ थियो।
कांग्रेस र कम्युनिस्टका कारण नै देशमा चरम गरीबी, अशिक्षा र बेरोजगारी बढेको उनले आरोप लगाए। उनले भने, “३५ वर्षदेखि देशमा कांग्रेश र कम्युनिस्टकै नेतृत्व रह्यो, तर देशको अनुहार फेरिने मौका एकपटक पनि आएन।”
“यिनकै चरम भ्रष्टाचार, लुटतन्त्र र गैरजिम्मेवारिकै कारण जेनजी आन्दोलन हुने अवस्था सिर्जना भयो।” उनका अनुसार नेपाल ३५ वर्षमा बलियो बन्नुको साटो अझै कमजोर बन्दै गयो, जबकि त्यही अवधिमा भूटान जस्ता देशले उल्लेखनीय प्रगति गर्न सके।
३५ वर्षमा देश बनाउन नसकेको कांग्रेस–कम्युनिस्टले अब कहिल्यै देश बनाउन नसक्ने दाबी गर्दै यादवले आगामी निर्वाचनमा यी दललाई सबै मिलेर पराजित गर्नुपर्ने आवश्यकता औँल्याए।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै यादवले जनतालाई एकजुट भएर कांग्रेस र कम्युनिस्ट गठबन्धनलाई पराजित गर्न आग्रह गरे। उनले जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्दै देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण आफूहरूले गर्न सक्ने दाबी गरे।
कार्यक्रममा तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत, कांग्रेस, एमालेलगायत दल परित्याग गरी सयौँ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
यमनामई गाउँपालिका, माधवनारायण नगरपालिका, राजदेवी नगरपालिका, बैधिमाई नगरपालिका लगायत विभिन्न पालिकाबाट करिब ५ सय नेता–कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेको बताइएको छ।
अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरूलाई टीका–माला लगाएर पार्टीमा स्वागत गरेका थिए। रौतहटमा जसपा नेपालको विस्तार तीव्र गतिमा भइरहेको दाबी पार्टीले गरेको छ। निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा नयाँ कार्यकर्ता भित्रिनुले रौतहटको आगामी राजनीतिक समीकरणमा जसपाले महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिँदैछ।
जसपा नेपाल रौतहटका अध्यक्ष राजीव रंजन (राजू यादव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्व मन्त्री शेख फूलबाबू, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेतृ किरण ठाकुर, युवा क्रान्तिकारी नेता राजकुमार दासलगायतका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।


