कृष्ण तिवारी ,
मंसिर ८ गते ।
फतुवा बिजयपुर नगरपालिकाका वडाअध्यक्षहरू कार्यवाहक मेयर अम्बेया खातुनको राजीनामा माग गर्दै सोमबार बिजयपुर बजारमा बिरोध प्रर्दशन गरेका छन् ।फतुवा बिजयपुर नगरपालिकामा करारको कर्मचारीलाई ब्यवस्थापन गर , नगरलाई बन्धक बनाउन पाइदैन , कार्यवाहक मेयरको एकल निर्णय चल्दैन ,असफल कार्यवाहक मेयर राजीनामाको माग गर्दै बिजयपुरमा नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । बिरोध सभामा बोल्दै वडा नम्बर २ का अध्यक्ष अनुरुद्द प्रसाद यादवका अनुसार कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनका श्रीमानको कारण नगरपालिकाका सबै वडा कार्यालयहरूमा तालाबन्दी हुन पुगेको छ, जसले दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ ।
वडा नम्बर २ मा पहिले निर्माण भइसकेको कालोपत्रे सडकमा पुनः ५० लाख रुपैयाँको माटो पुरी ग्राभेल गरेको देखाइ नक्कली बिल बनाएर भुक्तानी गर्न दवाब दिइएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत भरत यादवले त्यो मान्न अस्वीकार गरेपछि उनलाई सरुवा गराएर नयाँ प्रमुख प्रशासकीय अधिकृतमदन थापालाई ल्याइएपछि विवाद झनै बढेको उनले बताए।नगरपालिकामा करोडौं अनियमितता भएको वडा अध्यक्षहरुले आरोप लगाएका छन्। कार्यवाहक मेयर अम्बेया खातुनले नगरपालिकामा करोडौं अनियमितता गरेको वडा अध्यक्षहरुको दाबी छ।
नगरको सीमाक्षेत्रमा पर्ने लालबकैया नदीको ग्रावेल, ढुंगा, गिटी र बालुवाको निकासी जथाभावी गर्दै कमिसनको रकम असुल गरिरहेको आरोप लगाउँदै बिरोध प्रदर्शनमा वडा नं १को वडा अध्यक्ष बिजय यादवले कार्यपालिकाको बैठक कहिल्यै बोलाउँदैनन् र बारम्बार आग्रह गर्दा पनि बैठक गराउन मानेका छैनन्।’
कार्यवाहक मेयर खातुनले कार्यपालिकाको निर्णयबिनै विभिन्न योजनाहरु सम्पन्न गराउने गरेको आरोप लाग्ने गरेको छ। कार्यवाहक मेयर खातुन कार्यालयमा उपस्थित नहुने तथा कार्यालयमा काम लिएर जाने सर्वसाधारण जनतालाई आफ्नो निवासमा नै बोलाउने गरेको वडा नं ६ को वडा अध्यक्ष रामएकवाल यादवले बताए ।
नगरपालिकामा कार्यरत ८२ जना करार कर्मचारीको तलब कार्यपालिका निर्णय अनुसार दिनुपर्ने हुँदा पनि कार्यवाहक नगरप्रमुख खातुनले आफ्नो श्रीमान् शेख सेराजका कारण तलब रोकिराखेको वडा नं १० को वडाध्यक्ष मन्जय कुमार चौधरीको आरोप छ । तलब रोकिँदा कर्मचारी आन्दोलित बनेका र उनीहरूले कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण सेवा प्रवाह प्रभावित बनेको र बिधुतको रकम बुझाउनको लागि नगर परिषद बाट निर्णय भए पनि कार्यवाहक मेयरको श्रीमान शेख सेराजले अनकानी गरिएको वडा नं ११ का वडाध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । बिरोध सभामा पालिका भरिका जनप्रतिनिधि , करारका कर्मचारी , स्थानीयवासी , संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


