पवन कुमार उपाध्याय
रौतहट,०९ मंसिर। वृन्दावन–९ भुसाहा टोलमा एक महिलाको विभत्स ढङ्गले हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् ।
घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेको र उहाँहरू खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।
वृन्दावन–९ का वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवा पर्दछ । गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएको थियो । तत्पश्चात् दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो ।
दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए ।
ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकैबेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उहाँ घरबाट भाग्न सफल भएका थिए । फरार हुँदै उहाँले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ ।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ । खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


