पवन कुमार उपाध्याय
रौतहट,०९ मंसिर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ आजदेखि सुरु भएको छ। ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने सन्देशसहित जनचेतना फैलाउने उद्देश्यले नेपालले पनि नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवस का रूपमा मनाउँदै आएको छ।
यही अभियानको अवसरमा रौतहटको गरुडा नगरपालिका–४, गरुडामा प्रभातफेरी र्याली तथा कोणसभासहितको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, लैंगिक हिंसा नियन्त्रण जिल्ला संजाल रौतहट, तथा गरुडा नगरपालिका को संयुक्त आयोजनामा सम्पन्न गरिएको हो। कार्यक्रममा करिब २६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजालकी कोषाध्यक्ष ममता झाले गर्नुभएको थियो भने गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जैसवाल प्रमुख अतिथि रहनुभएको थियो। विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, महिला समूह तथा सुरक्षाकर्मीहरू सहभागी थिए।
‘UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ गरुडा बजार–मेथुर चौकबाट प्रभातफेरी र्याली निकालिएको थियो, जसले इलाका प्रहरी कार्यालय गरुडाको प्रांगणमा आयोजित कोणसभामा परिणत भयो।
कोणसभामा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी सई दिपिका ओझाले कार्यक्रमको उद्घोष गर्दै लैङ्गिक हिंसा रोकथाममा समुदायको जिम्मेवारी महत्वपूर्ण रहेको बताइन्।
सो अवसरमा वक्ताहरूमध्ये विभिन्न व्यक्तिहरूले घरेलु हिंसा, बालविवाह, विद्युतिय अपराध, बहुविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछुत, जबरजस्ती करणी जस्ता सामाजिक समस्याहरू अन्त्य गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।







