मंसीर १४ गते । रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नयाँ हाकिमका रूपमा माधवेन्द्र चौधरी हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा चौधरीले कार्यभार सम्हालेका हुन् । उनी हाजिर भएपछि नगर प्रमुख अजय प्रकाश जैसवाल, लेखा शाखा प्रमुख कामेश्वर सहनी सहित अन्य कर्मचारीहरूले नगरपालिकामा औपचारिक रूपमा स्वागत गरेका थिए ।
शाखा अधिकृत नित्यराज भट्टराईद्वारा हस्ताक्षरित पत्रअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत स्थायी रूपमा नआएसम्म नगरपालिकाको आर्थिक तथा प्रशासनिक कामकाज सञ्चालन गर्ने जिम्मेवारी चौधरीलाई प्रदान गरिएको उल्लेख छ ।
कार्यभार सम्हालेपछि चौधरीले नियम, कानुन र निर्धारित प्रक्रिया अनुसार मात्र काम गर्ने प्रस्ट पार्दै उनले नगरपालिकामा रोकिएको कर्मचारीको तलब–भत्ता वितरण, महिला स्वयंसेविकाको बाँकी भत्ता उपलब्ध गराउने, आवश्यक जनशक्ति व्यवस्थापनलाई खुला प्रतिस्पर्धाबाट अघि बढाउने तथा आर्थिक–प्रशासनिक निर्णयहरूमा नगर प्रमुखदेखि कार्यपालिका सदस्यसम्मको समावेशी भूमिकालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको कार्यक्षेत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनी प्रावधानभित्र रहेर काम गर्ने विश्वास सबैमा जगाउन आग्रह गरे ।
चौधरीको आगमनसँगै कटहरिया नगरपालिकामा रोकिएका प्रशासनिक काम, वित्तीय व्यवस्थापन तथा सेवाप्रवाहमा गतिशीलता आउने अपेक्षा नगरवासीले गरेका छन् ।


