ओम प्रकाश यादव
रौतहट, १६ मंसिर । रौतहटको यमुनामाई गाउँपालिका–४ अन्तर्गत आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
दुर्घटनाले सडक किनारामा रहेको एक स्थानीय होटलसमेत क्षतिग्रस्त बनेको छ।दुर्घटना बिहान करिब ७ बजे भएको र उद्धारमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार बडहर्वातर्फबाट अत्यधिक तीव्र गतिमा गुडिरहेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियो अचानक अनियन्त्रित बनेर चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ स्कार्पियोमा ठोक्किएको थियो।
पहिलो ठक्करपछि गति घट्न नपाउँदै सोही स्कार्पियो सडक किनारामा पार्क गरिएको ना.२ह–६५२५ नम्बरको अटोमा एक्कासी ठोक्किँदा दुर्घटना थप भयावह बनेको प्रहरीले बताएको छ।
दुर्घटनामा स्थानीय व्यापारी विजय साहले सञ्चालन गर्दै आएका होटलको अगाडिको संरचना पूर्णरूपमा भत्किएको छ।
होटलको सटर, भित्ता, टेबल–कुर्सी र भित्रका सामग्री क्षति हुँदा साहको हजारौँ रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार “स्कार्पियोको गति अस्वाभाविक थियो। एकैछिनमा दुई सवारी र एक होटल उडाएको जस्तै देखियो,” उनीहरूले बताए।
दुर्घटनामा घाइते हुनेहरुमा बाराको आदर्श कोतवाल– ७ का वर्ष ३० का पवन यादव, सर्लाही बरहथवा–१४ का वर्ष ११ का अंकित महतो, स्कार्पियो चालक गौर–२ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी–८ का वर्ष ५० का शिवजी साह, मुनामाई–५ का ३९ वर्षका मंगल पटेल र राजपुर–३ का वर्ष १० का तारिक वस्ता रहेका छन् ।
उनीहरूलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको र केहीको अवस्था मध्यम गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।
रौतहटका प्रहरी प्रवक्ता डिएस्पी बिष्णु प्रदीप बस्यालले भने,
“दुर्घटनामा संलग्न तीनै सवारी साधनलाई नियन्त्रणमा लिई विस्तृत छानबिन थालिएको छ। चालकहरूको बयान तथा प्राविधिक परीक्षणपछि वास्तविक कारण बारे थप स्पष्ट हुनेछ।”
घटना बारे थप अनुसंधान भइरहेको डीएसपी बस्यालले बताए।
गौर–चपुर सडकखण्डमा पछिल्ला महिनाहरूमा दुर्घटना बढ्दै गएको स्थानीयहरूको गुनासो छ। ‘सडक सीधा र खाली देखिन्छ, चालकहरूले ८०–१०० किमीको स्पीडमै लैजान्छन्,’ स्थानीयवासीले बताए।
सडकको दायाँ–बायाँ बजार क्षेत्र ठूलो भएकाले प्रहरी र स्थानीय तहलाई ट्राफिक व्यवस्थापन कडाई गर्न उनीहरूले माग गरेका छन्।


