बारा । आर.एन यादव । मंसीर १७ गते
बाराको देवताल गाउँपालिका–२ मा महिलाहरूको क्षमता विकास तथा नेतृत्व अभिवृद्धिलाई लक्षित गर्दै दुई दिने जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। मंसिर १६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम जय गढिमाई तालिम तथा परामर्श केन्द्र प्रा.लि., कलैया उपमहानगरपालिका–७ बाराको आयोजनामा तथा देवताल गाउँपालिका, पिप्राढीको सहयोगमा वडा कार्यालयको सभा कक्षमा सञ्चालन भइरहेको हो।
मंगलवार विशेष कार्यक्रमका बीच वडाअध्यक्ष मनरोदिन मियाँले प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महिलाको सामाजिक, आर्थिक र नेतृत्वात्मक सबलीकरणका लागि नियमित रुपमा यस्ता कार्यक्रमहरु आवश्यक पर्ने बताउनुभयो। उहाँले स्थानीय तहबाटै महिलालाई सशक्त बनाउने गतिविधि सञ्चालन गर्न वडाले प्राथमिकता दिएको उल्लेख गर्दै यस तालिमले महिलामा आत्मविश्वास, सीप र सामाजिक चेतनामा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा सामाजिक शाखा प्रमुख ललन कुमार पटेल, समाजसेवी नवल किशोर यादव, झिटकैया चौकीका असई लालजी यादव, सशस्त्र प्रहरी बीओपी दक्षिण झिटकैया आश्रमका सई, वडा सचिव तथा वडा–२ का महिलाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा सहभागी महिलाहरुलाई महिला अधिकार, लैङ्गिक हिंसा रोकथाम, आत्मरक्षा, सामाजिक व्यवहार, नेतृत्व विकास, पारिवारिक स्वास्थ्य, आर्थिक सशक्तीकरण लगायतका विषयमा अभिमुखीकरण र प्रशिक्षण प्रदान गरिने बताइएको छ।
आयोजक संस्थाका अनुसार कार्यक्रममाद्वारा महिलाहरूलाई व्यवहारिक सीप, समस्या समाधान क्षमताको विकास, समुदायमा नेतृत्व ग्रहण गर्ने क्षमता अभिवृद्धि तथा सामाजिक सहभागिता बढाउन सहयोग पुग्ने छ।
स्थानीय महिलाहरूले पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनु आवश्यक रहेको तथा तालिमले आफूहरूलाई धेरै कुरामा जागरुक बनाइरहेको प्रतिक्रिया दिएका छन्।


