ओम प्रकाश यादव
मंसिर २० गते, रौतहट।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई आज १०१ किलोको विशाल फूलमालाले स्वागत गरिएको छ।
सात दलको समर्थनमा हिजोमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई मधेश प्रदेशका पूर्व गृहमन्त्री मुहम्मद समीम अंसारी र नेपाली कांग्रेसका युवा नेता एमडी सनमले संयुक्त रूपमा १०१ किलोको फूलमाला लगाएर भव्य सत्कार गरेका हुन्।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादव हिजो मधेश प्रदेशका पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नवनियुक्त मुख्यमन्त्री यादवले भोलि आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी रहेको युवा नेता सनमले जानकारी दिए।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदहरूले समर्थन गरेका छन्।
यसअघिका दिनमा पनि यादव पटक–पटक मुख्यमन्त्री बन्ने प्रतिस्पर्धामा रहेका थिए तर राजनीतिक समीकरण नजुट्दा उनका प्रयास सफल हुन सकेका थिएनन्। तर यसपटक भने उनको निरन्तर प्रयास, दृढता र राजनीतिक जोडटोड अन्ततः सफल भएको हो।
यसअघि पनि धेरैपटक मुख्यमन्त्री बन्ने दौडमा अग्रपंक्तिमा रहेर पनि विभिन्न राजनीतिक समीकरणले अन्तिम चरणमा रोकिन बाध्य भएका कृष्ण यादवको यसपटक अन्ततः लामो समयदेखि गरेको परिश्रम, राजनीतिक धैर्य र रणनीतिक प्रयास सफल भएको हो। सात दलबीच बनेको अभूतपूर्व सहमति र नेतृत्वप्रति देखिएको भरोसाले यादवलाई मधेश प्रदेशको कार्यकारी नेतृत्वसम्म पुर्याएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
प्रदेशमा लामो समयदेखि जारी राजनीतिक तरलता अन्त्य भई यादव नेतृत्वमा स्थिर र प्रभावकारी सरकार चल्ने अपेक्षा विभिन्न निकायबाट व्यक्त गरिएको छ।
यादव समावेशी नीति, सुशासन र प्रदेश विकासमा गम्भीर देखिने विश्वास नेतादेखि सर्वसाधारणसम्मले व्यक्त गरिरहेका छन्।
रौतहट क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सांसद रहेका यादव मुख्यमन्त्रीमा चयन भएपछि रौतहटमा खुशीयाली छाएको छ।
“रौतहटले पहिलोपटक मुख्यमन्त्री पायो” भन्दै स्थानीयवासी तथा समर्थकहरूले सामाजिक सञ्जालभरि बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।


