मंसीर २१ गते । रौतहट
नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव आइतबार मधेस प्रदेशको मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन् । मधेसको राजधानी जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यादव मधेस प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भएका हुन् । यससँगै नेपाली काँग्रेसले पहिलो पटक मधेस प्रदेशको नेतृत्व सम्हाल्ने जिम्मा पाएको छ । यही मङ्सिर १९ गते सात दलको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त यादवलाई नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १८, जनमत पार्टीका १२, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८, नेकपा
(एकीकृत समाजवादी) का ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी कुल ७७ सांसदको हस्ताक्षर प्राप्त भएको थियो ।
१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले यही मङ्सिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने बताए । सत्तारुढ सात दलीय गठबन्धनको बैठकले पनि तीन दिनभित्रै विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।
यसैबिच मुख्यमन्त्री यादवले शपथ लगत्तै मन्त्रिपरिषद्को पहिलो विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले तीन जना मन्त्रीलाई शपथ खुवाएका हुन् । नेपाली काँग्रेसका जंगीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) का कनिश पटेल बिना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका छन् भने जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको जिम्मेवारीसहित शपथ लिएका छन् । बाँकी मन्त्रालयहरूको टुङ्गो विश्वासको मत प्राप्त भएपछि लगाउने सरकारको तयारी छ ।गत कात्तिक २४ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि उनले समर्थन जुटाउन नसक्दा राजीनामा दिएका थिए ।
उनलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्री नियुक्त गरेको भन्दै तत्कालीन प्रदेश प्रमुख सुमना सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरेको थियो भने सभामुख रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएका थिए ।
यसरी २४ दिनमै एमालेले मधेसमा मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख तीन वटै पद गुमाएको थियो ।हाल मधेस प्रदेशसभाको सभामुख पद पनि रिक्त छ । उपसभामुख बबिता राउत ईशरले अस्थायी रूपमा बैठक सञ्चालन गर्दै आएकी छन् ।नयाँ सरकार गठनसँगै मधेस प्रदेशको राजनीतिक वातावरणमा स्थिरताको अपेक्षा गरिएको छ ।
विश्वासको मत प्राप्त गरेपछि पूर्ण मन्त्रिपरिषद् विस्तार गरी नीति तथा कार्यक्रम अघि बढाउने सरकारको योजना रहेको बुझिएको छ ।


