रमेश कुमार यादब
मंसिर २१, रौतहट
मधेश प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कृष्णा प्रसाद यादवलाई आइतबार अबेर रात गृह जिल्ला रौतहटमा भव्य स्वागत गरिएको छ ।
मुख्यमन्त्रीको सपथ लिएपछि पहिलोपटक जिल्लामा आएका यादवलाई सर्वसाधारण, स्थानीय तहका प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, व्यापारी, कर्मचारी तथा विभिन्न संघ–संस्थाका शुभेच्छुकहरूले उत्साहपूर्ण वातावरणमा स्वागत गरेका हुन् ।
रौतहट क्षेत्र नं. १ ख बाट निर्वाचित प्रदेश सांसद समेत रहेका यादव चन्द्रपुर प्रवेश गरेपछि नै करिब सयौँ सवारी साधनको लामो ¥यालीले उनलाई साथ दिएको थियो । नेपाली कांग्रेसको झण्डा फहराउँदै, बाजागाजा बजाउँदै अनुयायीहरूले स्वागत जुलुसलाई झनै आकर्षक बनाएका थिए । स्थानीय बासिन्दादेखि व्यापारी तथा युवासमूहले मुख्यमन्त्रीप्रति गरेको आतिथ्यले सम्पूर्ण रौतहट जिल्लामा खुशीयालीको माहोल सिर्जना भएको थियो ।
गृहजिल्लामा प्रवेश गरेपछि मुख्यमन्त्री यादवले सबैभन्दा पहिला गरुडा नगरपालिकास्थित प्रसिद्ध पञ्चमुखी हनुमान मन्दिर पुगेर पूजा–आजा गरे । त्यहाँबाट शिवनगरस्थित धार्मिक स्थलमा श्रद्धा अर्पण गर्दै उनले प्रदेशका नागरिकको कल्याणका लागि सकारात्मक सोच र दृढताका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संक्षिप्त पत्रकार भेटघाटका क्रममा मुख्यमन्त्री यादवले रौतहट सहित सम्पूर्ण मधेश प्रदेशको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए। कुनै पनि जिल्लालाई बिर्सने वा अवहेलना गर्ने शैलीमा आफू नचलेको उल्लेख गर्दै उनले प्रदेशका सबै स्थानीय तहका प्रमुखहरूसँग निरन्तर संवाद र समन्वयमार्फत विकासका मार्ग पहिल्याउने प्रतिज्ञा गरे ।
यादवले प्रदेशका नागरिकको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै मधेश प्रदेशलाई समृद्ध, अविकसित क्षेत्रलाई विकसित र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा तत्कालीन योजनाहरू अघि बढाइने बताए ।
उता, मुख्यमन्त्रीलाई बधाई र शुभकामना दिन जिल्लाका उद्योग–व्यापारी, सामाजिककर्मी, विभिन्न दलका स्थानीय नेता तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो । रौतहटवासीले देखाएको उत्साहले मुख्यमन्त्री यादवको आगमन ऐतिहासिक बनेको स्थानीयहरूले प्रतिक्रिया दिएका छन् ।


