ओम प्रकाश यादव
मंसिर २५ गते, रौतहट।
रौतहटकी १६ वर्षीया सानिया खातूनले मुस्लिम समुदायको पवित्र ग्रन्थ कुरान शरीफ अध्ययनमा यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन सामान्यतया सम्भव मानिँदैन।
तीन वर्षभन्दा बढी समय लाग्ने कुरान अध्ययन कोर्ष उनले जम्मा ३३ दिनमै पूरा गर्दै नेपालमै पहिलो र अद्वितीय कीर्तिमान रचेकी छन्।
मुस्लिम समुदायको पवित्र धार्मिक ग्रन्थ कुरान शरीफ अध्ययन गर्न सामान्यतः तीन वर्षभन्दा बढी समय लाग्ने बताइन्छ। तर रौतहटको गढ़ीमाई नगरपालिका–३, गमहरियाकी १६ वर्षीया सानिया खातूनले यहि कठिन कोर्षलाई जम्मा ३३ दिनमै पूरा गर्दै ऐतिहासिक कृतिमान स्थापित गरेकी छन्।
नेपालमै पहिलोपटक यति छोटो समयमा कुरान अध्ययन पूरा गर्ने व्यक्तिको रुपमा उनी दर्ता भएकी छन्।
सानिया रौतहटको गढ़ीमाई नगरपालिका–३ की स्वर्गीय हाजी शेख ताहिर हुसैनकी नतिनी र शेख अबुलैसकी छोरी हुन्। आमा स्वर्गीय ओसीमा खातूनकी चौथो सन्तान सानियाले आफ्नै दृढ इच्छाशक्ति, कठोर मेहनत, निरन्तर अभ्यास र आत्म–विश्वासका कारण वर्षौं लाग्ने कोर्ष एक महिनामै पूरा गरेको बताउँछिन्।
सानियाले गढ़ीमाई नगरपालिका–३ मा रहेको मदरसा इश्लाहुल मुस्लेमीनमा अध्ययन गर्दै यो असाधारण सफलता हासिल गरेकी हुन्।
मदरसा इश्लाहुल मुस्लेमीनमा देशका विभिन्न जिल्लाबाट आएका एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। सुविधा सम्पन्न छात्रावास, शान्त वातावरण र अनुशासित शैक्षिक प्रणालीका कारण यहाँ गुणस्तरीय धार्मिक शिक्षा पाउने विद्यार्थीको संख्या वर्षेनि बढ्दै गइरहेको छ। यही वातावरणले सानियालाई अझ केन्द्रित भएर अध्ययन गर्न प्रेरणा दिएको शिक्षकहरू बताउँछन्।
कुरान मुस्लिमहरूको एकमात्र पवित्र ग्रन्थ हो, जसलाई अल्लाहको वाणी तथा मानवजातिका लागि मार्गदर्शन मानिन्छ। पैगम्बर मोहम्मदमार्फत २३ वर्षको अवधिमा अवतरित यो ग्रन्थलाई अध्ययन गर्न सामान्यतया वर्षौं लाग्ने गर्दछ।
तर १६ वर्षकी सानियाले ३० पारा, १ सय १४ सूरत, करिब ६ हजार ६ सय ६६ आयत समेटिएको सम्पूर्ण कुरान ३३ दिनमै पूरा गरेर अद्वितीय उपलब्धि हासिल गरेकी हुन्।
मुस्लिम धर्मावलम्बीका लागि कुरान केवल धर्मग्रन्थ मात्र होइन, जीवनका सबै पक्षमा मार्गदर्शन दिने अल्लाहको वाणी हो।
सामान्यतया यसलाई पूर्णरूपमा अध्ययन गर्न तीन वर्षभन्दा बढी समय लाग्ने मानिन्छ। तर सानिया खातूनले निरन्तर अनुशासन, दृढ इच्छाशक्ति र अपार परिश्रम गर्दै ३३ दिनमै सम्पूर्ण ग्रन्थ अध्ययन गरेर अनौठो कीर्तिमान कायम गरिन्।
सानियाले दिन रातको कठिन परिश्रम, आत्मविश्वास र निरन्तर अभ्यासले सम्भव नभएको कुरा सम्भव भएको बताउँछिन्,
“मेहनत, विश्वास र लगन भए असम्भव केही हुँदोरहेनछ,” उनी मुस्कुराउँदै भन्छिन्।
कुरानले सत्य बोल्न, न्याय गर्न, चोरी–झूट–हत्या नगर्न, गरिब–असहायको सहयोग गर्न, माता–पिता तथा छिमेकीलाई सम्मान गर्न, र दुराचार–अत्याचार–घमण्डबाट टाढा रहन सिकाउँछ।
कुरानले मानव नैतिकता, दया, न्याय, अनुशासन र अल्लाहप्रतिको समर्पणका महत्वपूर्ण शिक्षाहरू दिन्छ। ब्रह्माण्ड, पृथ्वी, तारा, पानी, मानव सृष्टि जस्ता वैज्ञानिक विषयहरूको वर्णन पनि उल्लेखनीय मानिन्छ।
तीन वर्ष लाग्ने धार्मिक कोर्षलाई ३३ दिनमा समाप्त गर्दै सानियाले नेपालमै पहिलो भएको ऐतिहासिक कीर्तिमान रचेकी छन्। मदरसाका शिक्षक तथा स्थानीय समुदायले उनको सफलता र मेहनतलाई असाधारण उपलब्धिको रूपमा प्रशंसा गरेका छन्।
सानियाले रौतहटको सरस्वती माध्यमिक विद्यालय मलाहीटोलमा कक्षा १ देखि १२ सम्म अध्ययन गरिसकेकी छन्। आगामी दिनमा एमबीबीएस अध्ययन गरी चिकित्सक बन्ने उनको इच्छा रहेको छ।
धार्मिक ज्ञानसँगै आधुनिक शिक्षा हासिल गर्ने उनको जिजीविषाले समुदायमा प्रेरणादायी संदेश दिएको छ।
सानियाको यस अद्वितीय उपलब्धिले न केवल रौतहट, तर समग्र नेपालकै मुस्लिम समुदायमा उत्साह र प्रेरणाको नयाँ ऊर्जा थपिदिएको छ।


