ओम प्रकाश यादव
मंसिर २६ गते, रौतहट
रौतहटको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बालचनपुरले बाढी विपद् बाट प्रभावित आफ्ना १४ जना सदस्यलाई राहत सामग्री वितरण गरेको छ।
जिल्लाको चन्द्रपुर नगरपालिका–१०, बालचनपुरमा रहेको शाखाले गत भदौ, असोज महिनामा बाढीका कारण क्षति बेहोर्नुपरेका बचतकर्ता सदस्यहरूलाई सहयोगस्वरूप खाद्यान्न र सरसफाइ सामग्री उपलब्ध गराएको हो।
बढी प्रभावित सदस्यहरूसँग ऐक्यबद्धता जनाउँदै गरुडा नगरपालिका–४, गरुडास्थित डीभाइन लाइट बोर्डिङ्ग स्कूलमा आज आयोजित कार्यक्रममा १४ जना सदस्यलाई प्रति व्यक्ति एक, एक बोरा चामल, दाल, नुन, खाने तेल, चिउरा र सरसफाइका सामाग्री (साबुन) हस्तान्तरण गरिएको छ।
नेशनल लघुवित्त वित्तीय संस्था बालचनपुरकी शाखा कार्यालय प्रमुख अमृता चौधरीले प्रभावित सदस्यहरूलाई राहत समेतका सामग्री वितरण गरेकी थिइन्।
गत भदौ र असोजमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। त्यसकै जिम्मेवारी र सामाजिक उत्तरदायित्व सम्झँदै केही राहत पुगोस् भन्ने उद्देश्यले सदस्यहरुलाई खाद्यान्न सामग्री प्रदान गरिएको प्रमुख चौधरीले जानकारी दिइन्।
राहत वितरण कार्यक्रम अनुगमन कार्यालय टेढा, पर्साका अनुगमन अधिकृत दिलीप कुमार यादवको विशेष रोहबारमा सम्पन्न भयो।
कार्यक्रममा शाखाका अन्य कर्मचारी, स्थानीय प्रहरी, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति उल्लेखनीय थियो।
नेशनल लघुवित्त वित्तीय संस्था देशभर सातै प्रदेशमा व्यापक सेवा विस्तार गर्दै आएको संस्था हो।
संस्थाका अनुसार ७४ जिल्लामा १ सय ८५ शाखामार्फत सेवा सञ्चालन भइरहेका छन्। राष्ट्रियस्तरमै २ लाख ४७ हजार सदस्य यस संस्थासँग आबद्ध छन् भने हालसम्मको कुल लगानी २५ अर्ब रुपैयाँ पुगेको छ।
संस्थाको कुल बचत ७ अर्ब रुपैयाँ रहेको जानकारी दिइएको छ।
बालचनपुर शाखामा मात्रै १ हजार ४ सय ८ जना बचतकर्ता सदस्य रहेका छन्। शाखा कार्यालय प्रमुख चौधरीका अनुसार शाखाले हालसम्म ८ सय ८ जना सदस्यलाई १८ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरिसकेको छ।
त्यस्तै, शाखामा सदस्यहरूले जम्मा गरेको बचत रकम ३ करोड रुपैयाँ नाघेको उनले बताइन्।
कार्यक्रममा गढीमाई नगरपालिका–८ का वडा अध्यक्ष बजरंगी प्रसाद यादव, रामबिनय पासवानलगायत स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा लघुवित्तका सदस्यहरूको सहभागिता रहेको थियो।
स्थानीय समुदायमै आधारित लघुवित्तको यस्तो सामाजिक उत्तरदायित्वमूलक कदमले प्रभावित परिवारहरूलाई राहत तथा सहजीकरणमा महत्वपूर्ण सहयोग पुगेको आयोजकले बताएको छ।
स्थानीय समुदायमा लामो समयदेखि वित्तीय पहुँच विस्तार र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेशनल लघुबित्त वित्तीय संस्था लिमिटेडले पछिल्लो समय सामाजिक उत्तरदायित्वका उदाहरणीय कार्यहरू गर्दै आएको छ।
विपद्को कठिन घडीमा पनि सदस्यहरूको दुःख–सुखमा साथ दिने संस्थाको प्रतिबद्धता प्रशंसनीय मानिएको छ।
बाढी–पीडित सदस्यहरूलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरेर संस्थाले समुदायमुखी सेवाप्रतिको आफ्नो संवेदनशीलता पुनः प्रमाणित गरेको छ।
देशभरका ७४ जिल्लामा सेवा विस्तार गरेको यो संस्था आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक समवेदना र उत्तरदायित्वमा पनि अग्रणी भएर उभिएको देखिन्छ।
सदस्यहरूको भरोसामाथि उभिएर राहत, सहयोग र सहजीकरणमा सक्रिय रहनु नेशनल लघुबित्तको उल्लेखनीय पक्षका रूपमा हेरिएको छ।
संस्थाको यही जनमुखी भावना र उदाहरणीय कार्यशैलीले यसलाई ‘समुदायसँग, समुदायको लागि’ रहने विश्वसनीय संस्था बनाएको स्थानीयवासीहरू बताउँछन्।


