रौशन कुमार चौधरी
मंसिर,२९ रौतहट। रौतहट जिल्लाको कटहरिया नगरपालिका–८ डुमरियामा सञ्चालित बाबा बैजूनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज यस सिजनका लागि अबको एक हप्तापछि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
उखु क्रसिङ सिजन सुरु हुनुअघि आज उद्योग परिसरमा विधिवत रूपमा डोंगाको पूजा सम्पन्न गरिएको छ। उद्योगपति बैजू प्रसाद बाबराले डोंगाको पूजाआजा गर्दै यस वर्षको उखु क्रसिङ सिजनको शुभारम्भ गरिएको जानकारी दिए।
डोंगाको पूजापाठ सम्पन्न भएसँगै अबको करिब एक हप्तापछि उद्योग सञ्चालनमा आउने उद्योगपति बाबराले बताए। उनका अनुसार यस सिजनको उखु क्रसिङका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने आगामी १० दिनभित्र मिल पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना रहेको छ।
उद्योगले यस वर्ष १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। बाबा बैजूनाथ सुगर उद्योगले गत वर्ष करिब पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो। यसअघि उद्योगको दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पुर्याइएको उद्योगपति बाबराले जानकारी दिए।
उद्योग स्थापना कालमा रौतहट जिल्लाभर जम्मा करिब तीन लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको थियो। तर उद्योग सञ्चालनमा आएपछि उखु खेतीप्रति किसानहरूको आकर्षण बढ्दै जाँदा गत वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु उत्पादन भएको उद्योगले जनाएको छ।
सुरुवाती चरणमा तीन लाख क्विन्टल मात्र उखु क्रसिङ गर्दै सञ्चालनमा आएको उद्योगले गत वर्ष करिब १३ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो। प्रत्येक वर्ष रौतहटमा उखु उत्पादन गर्ने किसानहरूको संख्या क्रमशः बढ्दै गएको छ। चालु सिजनमा मात्रै १४ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ हुने अनुमान गरिएको छ।
उखुको उत्पादन वृद्धि गर्न उद्योगले यस वर्ष किसानहरूलाई नयाँ प्रजातिका उखुको बीउ उपलब्ध गराएको छ। किसानको उत्पादनशीलता बढाउने उद्देश्यले नयाँ प्रजातिको बीउ वितरण गरिएको उद्योगपति बाबराले बताए।
उनका अनुसार उद्योगबाट उपलब्ध गराइएका नयाँ प्रजातिका उखुको बीउ प्रयोग गर्दा प्रति कठ्ठा ३० देखि ५० क्विन्टलसम्म उखु उत्पादन हुन सक्ने अपेक्षा गरिएको छ।
उद्योगले किसानलाई उखु खेतीतर्फ आकर्षित गर्न उखु खेतीसम्बन्धी विभिन्न सहयोग र प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै आएको छ। यसकै कारण जिल्लामा दिनप्रतिदिन उखु खेतीको क्षेत्रफल विस्तार हुँदै गएको बताइएको छ।
उद्योगले किसानबाट खरिद गरिएको उखुको १५ दिनभित्र भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। समयमै उखु बिक्री गरेर भुक्तानी प्राप्त हुने भएकाले प्रत्येक वर्ष जिल्लामा उखु खेती गर्ने किसानहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय किसानहरूले बताएका छन्।
उद्योग सञ्चालनसँगै किसानको आय वृद्धि, स्थानीय रोजगारी सिर्जना तथा जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


