क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • ३ पटक पढिएको
क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ

विराटनगर ,०७ पुस। प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् ।

विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो । छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको कटवालले बताए । उनले भने, ‘क्यासिनोमा नेपाली प्रवेश निषेध छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कटवालले भने, ‘केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन् । कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौँ । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ ।’

प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस