
पवन कुमार उपाध्याय
रौतहट, ०८ पुस। मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एकदिवसीय गोष्ठी सम्पन्न भएको छ। सोमबार रौतहटको चन्द्रनिगाहपुरस्थित गौतम होटलमा आयोजित उक्त कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूको सहभागिता रहेको थियो
गोष्ठीका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले अधिकांश पेशामा मापदण्ड निर्धारण गरिएको भए पनि राजनीति र पत्रकारितामा स्पष्ट मापदण्डको अभाव हुँदा दुवै पेशा बदनाम हुँदै गएको बताए। उनले प्रदेशस्तरमा नीति तथा नियम निर्माण गर्दा विषयगत समितिका पदाधिकारीहरूको सहभागितामा कार्य गरिए नीति प्रभावकारी र फलदायी हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष सुरेश यादवले सामाजिक सञ्जालको दुरुपयोगका कारण पत्रकारिता क्षेत्र जोखिममा पर्दै गएको बताए। सप्तरीदेखि रौतहटसम्म सामाजिक सञ्जालबाट सिर्जना भइरहेका जोखिमबारे व्यापक गुनासो सुनिन थालेको उल्लेख गर्दै उनले मधेश प्रदेशका स्थानीय तहहरूले वार्षिक करिब ७० करोड रुपैयाँ बराबरको विज्ञापन खर्च गरिरहेको अवस्थामा ती खर्चहरू प्रक्रियागत रूपमा भए–नभएको विषयमा अनुगमन आवश्यक रहेको बताए।
गोष्ठीमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले आ–आफ्ना जिल्लामा सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूबीच सञ्चार क्षेत्रका विद्यमान समस्या, अवसर र सुधारका उपायबारे छलफल भएको थियो।
