वीरगञ्ज, ०८ पुस। भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले घोषणा गरेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले जोड दिएका छन् ।
पूर्व मुख्यमन्त्री सोनलले मुलुकमा विद्यमान अन्यौलता र राजनीतिक अस्थिरताको निकास ताजा जनादेश नै भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।
“जनताको मतबाट आउने स्पष्ट आदेशले मात्रै अहिलेको अन्यौलता अन्त्य गर्न सक्छ,” उनले भने, “त्यसैले फागुन २१ कै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्छ ।”
उनका अनुसार हाल विभिन्न राजनीतिक दलहरू निर्वाचन केन्द्रित कार्यक्रमहरूमा सहमत हुँदै उम्मेदवार चयन प्रक्रियामा अघि बढ्नु सकारात्मक सङ्केत हो । तर निर्वाचन सफल बनाउन सरकारले निष्पक्ष, भयमुक्त र स्वच्छ वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ ।
पूर्व मुख्यमन्त्री सोनलले सरकार र सरोकारवाला सबै पक्षले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन समयमै निर्वाचन सम्पन्न गराउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।


