रमेश कुमार यादब
पुस ०८ रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका–८ आकडपाथडमा निर्माणको अन्तिम चरणमा रहेको शुद्ध खानेपानी ओभरहेड ट्यांकीका लागि डिप बोरिङ्गको शिलान्यास गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमबीच नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पुजाआजा तथा पुरोहितद्वारा मन्त्रवाचन गराएर डिप बोरिङ्गको शिलान्यास गर्नुभएको हो । उक्त शिलान्यास कार्यक्रममा बृन्दावन नगरपालिका–८ का वडाअध्यक्ष रबिन्द्र प्रसाद साह, वडा नं. ९ का वडाअध्यक्ष प्रवेज आलमलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा संयुक्त रूपमा शिलान्यास गरिएको हो । यस आयोजना सम्पन्न भएपछि बृन्दावन नगरपालिकाका वडा नं. ८ र ९ का करिब सात हजार उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले जनताको आधारभूत आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँले २०८१ माघ १ गते ओभरहेड पानी ट्यांकीको शिलान्यास गरिसकिएको स्मरण गर्दै त्यसयता निरन्तर अनुगमन र गुणस्तरीय काम सुनिश्चित गर्दै आएको बताउनुभयो । नगर प्रमुख कुर्मीले भन्नुभयो, “ओभरहेड पानी ट्यांकीको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । अब उक्त ट्यांकीमा शुद्ध पानी आपूर्ति गर्न आवश्यक भएकाले आज डिप बोरिङ्गको शिलान्यास गरिएको हो । ओभरहेड ट्यांकी र डिप बोरिङ्ग दुबै काम समयमै सम्पन्न हुनेमा म विश्वस्त छु ।” रौतहट जिल्ला आर्सेनिकयुक्त पानीको समस्याबाट प्रभावित जिल्ला भएको उल्लेख गर्दै नगर प्रमुख कुर्मीले आर्सेनिकयुक्त पानीका कारण मानिसहरू विभिन्न रोगबाट पीडित हुँदै आएको बताउनुभयो । यही समस्याको दीर्घकालीन समाधानका लागि पालिकाले शुद्ध खानेपानी ट्यांकी निर्माण गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

“शुद्ध पानीको अभावले धेरै मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ । खानपिनसँगै शुद्ध पानी मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ । शुद्ध पानी नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था समेत देखिएको छ,” नगर प्रमुख कुर्मीले भन्नुभयो । नगरबासीले भोग्दै आएको खानेपानीको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने विश्वासका साथ डिप बोरिङ्गको शिलान्यास गरिएको उहाँले स्पष्ट पार्नुभयो । यो खानेपानी आयोजना सम्पन्न भएपछि आकडपाथड र आसपासका बस्तीहरूमा सहज, स्वच्छ र सुरक्षित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।

यसले नगरपालिकाको खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउने विश्वास लिइएको छ । स्थानीय बासिन्दाहरूले लामो समयदेखि शुद्ध खानेपानीको अभावका कारण भोग्नुपरेका समस्या अब समाधान हुनेमा खुसी व्यक्त गरेका छन् । त्यसतै उक्त आयोजनाको प्राबिधिक बिरेन्द्र प्रसाद यादबले भने असार मसान्त सम्म नगरबासिको घर घरमा शुद्ध पानी पुरयाउने लक्ष्यका साथ काम धमाधम अगाडी बढिरहेको बताउनु भयो ।

स्थानियहरुले यो आयोजना स्वास्थ्य, सरसफाइ र जीवनस्तर सुधारका लागि अत्यन्त महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन् । यस शुद्ध खानेपानी ओभरहेड ट्यांकी निर्माण परियोजनाको ठेक्का प्रक्रिया मार्फत ४ करोड ७५ लाख ७७ हजार रुपैयाँमा तिरुपति आकाश जेभी निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । निर्धारित समयमै काम सम्पन्न गरी जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ । आजको शिलान्यास कार्यक्रममा श्री नन्दन प्रसाद यादब, दशरथ राम, भोला पटेल, उपेन्द्र पटेल प्राबिधिक धिरज पटेल, दिपेश पटेल, भुपेन्द्र पटेल लगायत सयकडौं स्थानिय मानिसहरुको सहभागिता रहेको थियो ।


