झापा–५ बाट ओलीलाई चुनौती दिने बालेनको तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • ५ पटक पढिएको
झापा–५ बाट ओलीलाई चुनौती दिने बालेनको तयारी

काठमाडौं, ०९ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निर्वाचन क्षेत्र झापाबाट हराएर चुनाव जित्ने इच्छा व्यक्त गरेका छन् । बालेन निकट स्रोतहरूका अनुसार उनले बारम्बार ओलीलाई नहराईकन चुनाव जितेको मज्जा नै नआउने बताउने गरेका छन् ।

नेकपा (एमाले) को अध्यक्ष समेत रहेका ओलीविरुद्ध निर्वाचन लड्ने बालेनको चाहन पुरानो द्वन्द्वसँग जोडिएको छ । ओली नेतृत्वको सरकारका विभिन्न निर्णयहरूमा बालेनले खुलेर विरोध गर्दै आएका छन् ।

गिरिबन्धु टी इस्टेट प्रकरणदेखि नीतिगत भ्रष्टाचारसम्मका मुद्दामा बालेनले ओलीलाई सीधै निशाना बनाउने गरेका छन् । ओली प्रधानमन्त्री रहँदा पनि बालेनले उनको खुला रूपमा विरोध गर्दै आएको कारण दुवैबिचको सम्भावित प्रतिस्पर्धा व्यक्तिगत चुनौती मात्र नभएर वैकल्पिक राजनीतिको प्रतीकका रूपमा पनि हेरिएको छ ।

सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो छलफलपछि बालेनको राष्ट्रिय राजनीतिप्रति रुचि थप बढेको देखिन्छ । स्रोतका अनुसार सोही बैठकमा बालेनले रवि अगाडि नै ओलीविरुद्ध झापा–५ बाट उम्मेदवारी दिने सम्भावनाको विषयमा कुराकानी गरेका थिए ।

झापा – ५ क्षेत्र ओलीको गढ मानिन्छ । यहाँबाट पटक – पटक निर्वाचित हुँदै आएका छन् । बालेनले ओलीको क्षेत्रबाट चुनाव लडे भने दुवैबिचको प्रतिस्पर्धा देशको राजनीतिमा सबैभन्दा रोचक ‘फेस अफ’ हुनेछ । बालेनको घर काठमाडौँ क्षेत्र नं. २ मा पर्छ ।

यद्यपि, बालेन महानगरको कार्यकाल पूरा गर्ने कि राष्ट्रिय राजनीतिमा होमिने भन्ने दोधारमा छन् । निकटहरूका अनुसार उनले कहिले चुनाव लड्ने त कहिले महानगरको कार्यकाल पूरा गर्ने भन्ने गरेका छन् । तर देशका लागि योगदान गर्नुपर्छ भन्ने साथीहरूको आग्रह उनले स्वीकार गरेजस्तो लाग्छ ।

रास्वपा नेताहरूका अनुसार रवि लामिछाने आफ्नो कानुनी मुद्दाका कारण प्रधानमन्त्री बन्न नपाउने अवस्थामा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्न तयार छन् । रविले मुद्दामा सफाइ पाएको खण्डमा बालेन उनको नेतृत्व स्वीकार गर्न पनि सकारात्मक छन् । त्यस्तै बैठकमा उज्यालो नेपाल पार्टीका संस्थापक तथा वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङसँगको सम्भावित सहकार्यको विषयमा पनि चर्चा भएको थियो । रास्वपासँग पार्टी एकीकरणको विषयमा सहमति नजुटे पनि रविको रिहाइ पश्चात् घिसिङसँगको संवाद पुनः सुरु भएको बुझिएको छ ।

बालेनको इच्छाले पुराना दलहरूमा तरङ्ग ल्याएको छ । ओलीलाई उनकै क्षेत्रबाट चुनौती दिनु भनेको वैकल्पिक शक्तिको उदयको सशक्त सन्देश हुनेछ । तर बालेनले अन्तिम निर्णय के गर्छन् ? आगामी दिनले स्पष्ट पार्नेछ । यो विषयले नेपालको राजनीतिक वृत्तमा ठूलो चर्चा पाइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस