रौतहट, ९ पुस । बंगलादेशमा भिडले अल्पसंख्यक हिन्दु समुदाय माथि गरिरहेको हिंसाका विरुद्ध रौतहटको दुर्गा भगवतीका हिन्दु युवाहरुद्वारा प्रदर्शन गरिएका छन् ।
दुर्गाभगवती गाउँपालिकामा मंगलबार आदर्श झा र विकास महतोको संयुक्त नेतृत्वमा स्थानीय युवा र विद्यार्थीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि बढ्दो हिंसा र युवक दिपुचन्द्र दासको क्रूर हत्याको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरु “मानवअधिकारको रक्षा गर”, “अल्पसंख्यकको हत्या बन्द गर”, “दिपु दास अमर रहुन” भनेर चर्को नाराबाजी गरे । पालिकाभरीमा निस्किएका विरोध रयाली पछि कोर्ण सभामा परिणत भए ।
कोणसभालाई सम्बोधन गर्दै हिन्दु युवाहरुको अभियन्ता झाले बंगलादेशमा हिन्दु तथा अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर चिन्ताको विषय भएको र अन्तर्राष्ट्रिय समुदायले चासो देखाउनु पर्ने बताए ।
यसैगरी अर्का अभियन्ता विकास महतोले बंगलादेश सरकार अल्पसंख्यक सुरक्षामा असफल भएको आरोप लगाउँदै हत्यामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरे ।
प्रदर्शनकारीहरूले नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट बंगलादेश सँग आपत्ति जनाउन र दोषीमाथि दबाब दिन आग्रह गरे ।
सुरज मिश्रा, दिपु पटेल, रौशन झा, करन दास, मनोज यादव लगायत सयौं युवा, विद्यार्थी सहितका बालबालिकाहरुको उपस्थिति रहेका थिए ।
दिपुचन्द्र दास हत्या कसरी भयो ?
बंगलादेशको म्यामेनसिंह जिल्लामा गत डिसेम्बर १८ (२०२५) मा २५–२७ वर्षीय हिन्दु युवक दिपुचन्द्र दास (गार्मेन्ट फ्याक्ट्री मजदुर) लाई ईश निन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो । शवलाई रूखमा झुन्ड्याएर आगो लगाइएको थियो ।
प्रारम्भिक रिपोर्टहरूमा धार्मिक आरोपलाई कारण मानेका थिए, तर पछिल्ला अनुसन्धानहरूमा यो कार्यस्थल विवाद (प्रमोशन सम्बन्धी ईष्र्या) बाट उत्पन्न भएको र धार्मिक आरोप झूटो भएको देखाएका छन् ।
बंगलादेश अन्तरिम सरकारले घटनाको निन्दा गर्दै १०–१२ जनालाई गिरफ्तार गरेको छ र “नयाँ बंगलादेशमा यस्तो हिंसालाई स्थान नभएको” मिडिया रिपोर्टमा भनिएको छ ।
घटना शेख हसिनाको सत्ताच्युतिपछि (अगस्ट २०२४) अल्पसंख्यक माथि बढ्दो हिंसाको पृष्ठभूमिमा भएको हो, तर धेरैजसो घटनाहरू राजनीतिक वा व्यक्तिगत कारणले भएका रिपोर्टहरू उल्लेख गरिएका छन ।
प्रदर्शनले मधेश क्षेत्रका हिन्दु समुदायमा बंगलादेशका घटनाप्रति गहिरो चिन्ता र एकता देखाएको छ । सहभागीहरूले यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाउने चेतावनी दिएका छन् ।


