काठमाडौं, ०९ पुस। विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र राजनीतिक प्रणाली सुधार गर्नका लागि आफू ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताए।
उनले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र जेन-जी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरे। अनसनरत भुसालले आफूलाई कार्यकारी अधिकारसहितको प्रधानमन्त्री दिए एक महिनाभित्र देशको कायापलट गर्ने दाबी गरे।
‘यदि म वा हाम्रो टिमबाट प्रधानमन्त्री भयो भने एक महिनाभित्र ९ वटै माग पूरा गर्छौं,’ उनले चुनौती दिँदै भने, ‘यदि गर्न सकिनँ भने मलाई यही माइतीघरमा ल्याएर झुन्ड्याइदिए हुन्छ।’ उनले ४६ सालयताका सबै नेता, कर्मचारी र उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई जेल कोच्ने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने योजना सुनाए।
भुसालले देशले संघीयताको आर्थिक भार थेग्न नसक्ने भन्दै प्रदेश सभा र राष्ट्रिय सभा तत्काल खारेज गर्नुपर्ने माग दोहोर्याए। ‘यो देश हिरा हो तर हामीले चिन्न सकेनौँ,’ उनले भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नगरेसम्म देशमा स्थिरता आउँदैन। थोत्रा दल र थोत्रा नेताबाट अब पार लाग्दैन।’
सरकारले आफ्ना मागलाई बेवास्ता गरे बङ्गलादेशको जस्तो अवस्था आउन सक्ने उनले चेतावनी दिए। ‘अस्ति भर्खर ७८ जनाले ज्यान गुमाए, यो सामान्य कुरा होइन,’ उनले भने, ‘हामी शान्तिपूर्ण रूपमा अनसन बसेका छौँ, माग पूरा गर्न एक महिना पनि लाग्दैन, १० दिनमा हुन्छ। यदि सरकारले सुनेन भने परिणाम गम्भीर हुनेछ।’
डा. भुसालले आफू अनसनमा बसिसकेपछि माग पूरा नभएसम्म वा आफ्नो मृत्यु नभएसम्म अनसन नतोड्ने दृढता व्यक्त गरे।


