रौतहट,१२ पुस। रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरिया स्थित रहेको ज्योती डिस्टलरी प्रा.ली.मा बोइलर मेसिन अचानक पड्किँदा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आज बिहान करिब ०८:३० बजेको समयमा डिस्टलरीमा जडान गरिएको बोइलर मेसिन अचानक पड्किएको हो।
घटनाबारे करिब ०९:०० बजेको समयमा इलाका प्रहरी कार्यालय कटहरियामा खबर प्राप्त हुनासाथ इ.प्र.का. कटहरियाबाट प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको कमाण्डमा, तालुक इ.प्र.का. गरुडाबाट प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्य तथा इ.प्र.का. लक्ष्मिनिया बिजयपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादवको कमाण्डमा संयुक्त प्रहरी टोली घटनास्थलतर्फ खटेको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरुलाई तत्काल उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको छ।
बोइलर विस्फोटका कारण डिस्टलरीमा रहेको भौतिक संरचनामा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब ६ किलोमिटर दूरीमा पर्दछ। विस्फोटमा परि कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा घाइते हुनेहरुमा सोही डिस्टलरीमा काम गर्ने कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, अन्दाजी ३५ वर्षका प्रमजित यादव, अन्दाजी ५१ वर्षका जगदिश यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर), अन्दाजी ५५ वर्षका बिगन यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर), अन्दाजी ४० वर्षका कैलाश माली (मध्यम अवस्था) तथा गरुडा नगरपालिका–५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर) रहेका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बीरगंज रेफर गरिएको बताइएको छ। घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको र बोइलर विस्फोट कसरी भयो भन्ने विषयमा थप छानबिन जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रवीन कार्कीले बताएका छन।


