वीरगञ्जको सातोमाई मन्दिर निर्माण ३ वर्षदेखि अलपत्र, आक्रोशित स्थानीयको प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
वीरगञ्जको सातोमाई मन्दिर निर्माण ३ वर्षदेखि अलपत्र, आक्रोशित स्थानीयको प्रदर्शन

वीरगञ्ज,१२ पुस। वीरगञ्ज महानगरपालिका – २५ अन्तर्गत मौजे सिर्सिया टोलमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सातोमाई मन्दिर विगत तीन वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीको आक्रोश चुलिएको छ ।

मन्दिर पुनः निर्माण र व्यवस्थापनमा कुनै ठोस पहल नभएको भन्दै स्थानीय युवाहरूले पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीको घर घेराउ गर्दै दबाबमूलक प्रदर्शन गरेका छन् ।

मन्दिर क्षेत्रको सौन्दर्यीकरण, पुनः निर्माण तथा व्यवस्थापनका लागि पटक–पटक सम्बन्धित निकाय र जनप्रतिनिधिलाई जानकारी गराइए पनि कुनै गम्भीर चासो नदेखिएको स्थानीयको गुनासो छ । चुनावका बेला आश्वासन मात्र पाइएको तर कार्यान्वयन शून्य रहेको भन्दै बाध्य भएर यस्तो कदम चाल्नुपरेको स्थानीय नीरज प्रसाद कुर्मीले बताए ।

प्रदर्शनमा सहभागी युवाहरूले सातोमाई मन्दिर केवल धार्मिक स्थल मात्र नभई सिर्सिया टोलको पहिचान र सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै तीन वर्षसम्म मन्दिर अलपत्र रहनु जनप्रतिनिधिको लापरबाहीको परिणाम भएको आरोप लगाए । उनीहरूले यथाशीघ्र काम सुरु गर्न स्पष्ट समयसीमा तोक्न माग गर्दै अब पनि बेवास्ता भए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार मन्दिर क्षेत्र जीर्ण बन्दै जाँदा धार्मिक गतिविधि प्रभावित हुनुका साथै सामाजिक सद्भावमा समेत नकारात्मक असर परेको छ । विशेषगरी चाडपर्व र पूजा–अर्चनाका समयमा मन्दिरको दयनीय अवस्थाका कारण श्रद्धालुहरू निराश हुँदै आएका छन् ।

घटनाले मधेस प्रदेशमा विकास योजनाको कार्यान्वयन, बजेट सदुपयोग र जनप्रतिनिधिको जबाफदेहितामाथि प्रश्न खडा गरेको स्थानीय युवाहरूको भनाइ छ । योजना घोषणा भए पनि समयमै काम नहुनु, अनुगमन कमजोर हुनु र राजनीतिक इच्छाशक्ति नदेखिनु समस्याको मूल कारण भएको उनीहरूको आरोप छ ।

स्थानीय युवाहरूका अनुसार प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीले मन्दिर निर्माणका लागि आफ्नै व्यक्तिगत लगानीबाट २० लाख रुपैयाँ खर्च गरी काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता भाषण र राजनीतिक आश्वासनमै सीमित भएको उनीहरूको दाबी छ । मन्दिरको काम यथाशीघ्र सुरु नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी समेत दिइएको छ ।

यता, मन्दिर निर्माणमा हालसम्म कति लागत खर्च भयो, कति बजेट विनियोजन गरिएको छ भन्ने विषयमा समेत पारदर्शिता नदेखिएको स्थानीयको गुनासो छ । यसैबिच, प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीले साउन महिनासम्म सातोमाई मन्दिरको काम पूर्ण रूपमा सम्पन्न हुने दाबी गरेका छन् ।

स्थानीय असन्तुष्टिले सातोमाई मन्दिरको विषय जनप्रतिनिधि र सरकारको कार्यशैलीमाथि जनताको विश्वास परीक्षण गर्ने मुद्दाका रूपमा अघि आएको छ । तत्काल स्पष्ट कार्य योजना र निर्माण कार्य सुरु नभए खबरदारी कार्यक्रम आन्दोलनमा रूपान्तरण हुने सङ्केत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस