सवारी ज्यान मुद्दामा उद्योगपति टेमानीका छोरा यशविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
सवारी ज्यान मुद्दामा उद्योगपति टेमानीका छोरा यशविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

वीरगञ्ज, १२ पुस। वीरगञ्जका प्रतिष्ठित उद्योगपति तथा उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा यश अग्रवाल टेमानी विरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।

यशले चलाएको बा ०१–०३३ च २४८१ नम्बरको कारको ठक्करबाट वीरगञ्ज–३२ निवासी रामबालक सहनीको मृत्यु भएपछि उक्त मुद्दा दर्ता भएको बुझिएको हो ।

गत बुधवार तीव्र गतिमा चलाइएको कारले जेब्रा क्रसिङ पार गर्न लागेका मजदुर सहनीलाई जितपुर–सिमरा उपमहानगरपालिकाको केराढोका क्षेत्रमा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसीटी बायोध्या अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका भाइ नगिना सहनीले शुक्रवार इलाका प्रहरी कार्यालय जितपुर सिमरामा यश अग्रवाल यश विरुद्ध जाहेरी दर्ता गराएका हुन् । इलाका प्रहरी कार्यालय जितपुर सिमराका प्रहरी निरीक्षक दिवाकर बस्नेतले सवारी ज्यान मुद्दामा जाहेरी दर्ता भएको पुष्टि गर्दै घटनाको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण सङ्कलन भइरहेको जानकारी दिए । उनका अनुसार कार चालक प्रहरी नियन्त्रणमा छन् र दोषी ठहरिए कानुनअनुसार कारबाही गरिनेछ ।

स्रोतका अनुसार नक्कली चालक खडा गरी घटना ढाकछोप गर्न खोजिएको आरोप पनि लागेको छ । मृतकका भाइ नगिना सहनी र उनका साला राजेन्द्र सहनीसँग मुद्दा नचलाउने सर्तमा ९ लाख ५० हजार रुपैयाँ दिने विषयमा मौखिक सहमति भएको दाबी समेत गरिएको छ । पीडित परिवारलाई शव बुझी दाहसंस्कार गर्न उक्त रकम दिने सहमति भएको भनिए पनि यस्तो प्रक्रिया कानुन विपरीत रहेको बताइएको छ ।

मृतक रामबालक सहनीका श्रीमती र २० तथा १८ वर्षका दुई छोरी रहेका छन् । परिवारका एक मात्र कमाउने व्यक्ति सहनी नै भएको मृतककी छोरी लक्ष्मी सहनीले बताउँदै न्याय र कानुनबमोजिम क्षतिपूर्तिको माग गरिन् ।

पीडित परिवारले आर्थिक लेनदेनका आधारमा मात्र मिलापत्र गर्न नमान्ने स्पष्ट पारेको छ ।  उता, जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र बाहिर भनिएजस्तो कुनै दबाब नरहेको जनाएको छ ।

अर्कोतर्फ उद्योग अशोकले दुर्घटना हुँदा आफ्नो छोरा यशले गाडी नचलाएको दाबी गरेका छन् । दुर्घटना पश्चात् चालक घटनास्थलमा जम्मा भएको भीडले कुटपिट गर्ने डरले गाडी चालक कृष्णा यादव फरार भएको अशोकको दाबी छ । सोही कारण प्रहरीले चालकको सट्टा आफ्नो छोरा यशलाई नियन्त्रणमा लिएको हुन सक्ने उनको भनाइ छ ।

अशोकले प्रहरीले कुनै पनि दबाबमा नपरी सत्य–तथ्य छानबिन गरी निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस